विकासको मेरुदण्ड शिक्षा होः साउद

परशुराम । डडेल्धुराको परशुराम नगरपालिकाका नगर प्रमुख भीमबहादुर साउदले विकासको मेरुदण्ड शिक्षा भएको बताएका छन् । सिद्धनाथ माध्यमिक विद्यालय जयपुर जोगबुडाको ४९औं बार्षिकोत्सव तथा अभिवाबक दिवसमा सम्बोधन गर्दै साउदले आजको युगमा हरेक ब्यक्तिको सुन्दर भविश्यका लागि शिक्षा आवश्यक भएको धारणा व्यक्त गरे ।

भविश्य निर्माण र प्रगतीपथमा डोर्याउन चेतना तथा साक्षर बन्न जरुरी भएको उनले बताए । त्यसका लागि शिक्षा क्षेत्रको विकास हुन जरुरी रहेको उनको भनाइ थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै साउदले नगरपालिकाले शिक्षाको विकासका लागि कुनै सम्झौता नगर्ने बताए । पछिल्लो समय समुदायमा आधारित विद्यालय र संस्थागत विद्यालयको निकै ठूलो प्रतिस्पर्धा देखिएकाले स्थानीय सरकारले समुदायमा आधारित विद्यालयलाई प्रभाकारी बनाउन ठोस कदम चाल्नुपर्ने उनको मत थियो ।

परशुराम नगरपालिकामा समुदायमा आधारित विद्यालयको समस्या आफुले नजिकवाट नियालेको भन्दै नगरपालिकाको शिक्षा नीतिअनरुप समस्या समाधानमा लागि आफू लागिपरेको उनले बताए । ‘आउँदा दिनमा शिक्षा शाखा र बिभिन्न विद्यालयका प्रधानाध्यापकसँग छलफल, अन्तक्रिया गरेर नगर क्षेत्रका सबै विद्यालयको दरबन्दी, भौतिकर्पूवाधारको समस्या समाधान गरिने छ,’ नगर प्रमुख साउदले भने ।

आफुले समुदायमा आधारित विद्यालयका गरिब, विपन्न, असाय, उत्कृष्ठ विद्यार्थीको शैक्षिक सुधारका लागि छात्रवृत्तिका लागि ब्यक्तिगत लगानीमा मावि, आधारभूत तह र प्राविमा १ लाख देखी ५५ हजारका दरले अध्यक्षकोष स्थापना गरिरहेको जानकारी उनले दिए ।

बिद्यालय ब्यस्थापन समितिका अध्यक्ष नरभान कामीको सभापतित्वमा भएको समारोहमा विद्यालयको बार्षिक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक पदमराज जोशीले पस्तुत गरेका हुन ।