टिपरले कुल्चिएका दिलीप : एउँटै सपना थियो विप्पतीबाट गाउँ जोगाउने

धनुषा । कलियुगमा राम्रो गर्नखोज्‍नेको भलो हुँदैन भन्‍ने दृष्ठान्त धनुषामा सावित भएको छ । मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय ओमप्रकाश महतो (दिलीप) लाई शुक्रबार बिहान टिपरले किचेर हत्या गरेसँगै एउटा सुन्दर जिन्दगी मात्र होइन् विसाल सपना पनि निमोठिएको छ ।

दिलीप भारतको भोपालमा इन्जिनियरिङ पढ्दै गरेका विद्यार्थी हुन् । बिटेक इन्जिनियरिङको अन्तिम सेमेस्टर पढ्दै गरेका दिलीप दुई सताअघि मात्र कलेज बिदामा घर फर्केका थिए ।

दिलीप एक होनाहार युवा थिए । सचेतनाले भरिपूर्ण भएकै कारण उनी गाउँमा हुने विभिन्‍न सामाजिक कार्यमा सहभागी हुनुका साथै गाउँमा हुने विकृति विसंगतीका विरुद्ध आवाज उठाउँथे ।

उनमा भएको चेतन मले पछिल्लो २ वर्षयता गाउँनजिकैको औरही खोलामा भइरहेको उत्खननको विरोध गरिरहेको थियो । उनलाई थाहा थियो त्यसरी खोलामा उत्सनन् हुनु भनेको राम्रो होइन । यसले कुनै दिन गाउँमा ठूलो विप्पति ल्याउन सक्छ । त्यसैले उनी निरन्तर खोला उत्खनन् विरुद्ध आवाज उठाउँदै आएका थिए ।

नदीमा गरिने उत्खननले श्रीपुर वरपरका उब्जाउ खेत खोलाले कटान गर्ने र गाउँमा बाढी छिर्ने भन्दै उनी चिन्तित थिए । उनी खेतबारी र गाउँ जोगाउन चाहन्थे । यस तर्फ दिलीप बाहेक अन्य कसैलाई खासै प्रवाह थिएन ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवका अनुसार उत्खनन्को विरोध गरेकै कारण उनको पटक–पटक ठेकेदारहरूसँग विवादसमेत हुन्थ्यो । परिवार स्रोतका अनुसार दिलीपलाई बेला-बेला विरोध नगर्न भन्दै धम्कि पनि आउँथ्यो । उनी यसको कुनै प्रवाह गर्थेनन् । किनकी धम्कि दिने चिनेजानेकै ठेकेदार हुन्थे ।

उनको परिवारले बताए अनुसार उनलाई धम्की र प्रलोभन दिनेहरू घरैमा पुग्थे । तर, उनी न धम्कीबाट डराए न प्रलोभनमै परे । निरन्तर आफ्नो अडानमा अडिक रहेर विरोध गरिरहे ।

दिलीपले गत वर्ष खोलामा भएको उत्खननबारे जनकपुरका पत्रकारलाई बोलाएरसमेत देखाएको बताइएको छ । उनको उक्त कदमपछि केही समय नदिमा उत्खनन् रोकिए पनि त्यसले पछि निरन्तरता पायो ।

केही महिनाअघि छठ मनाउन घर आउँदा पनि दिलीपको क्रसर व्यवसायीहरूसँग विवाद भएको गाउँलेले जनाएका छन् । दिलीपले खोलामै पुगेर उत्खनन नगर्न आग्रह गरेपछि उनका बुबा रामजीवन महतोलाई क्रसर सञ्चालक विपन महतोले टिपरले किचेर ज्यान मार्ने धम्की दिएको दिलीपका दाजुले बताए ।

उनी शुक्रबार बिहान घर पछाडिको खोलामा लोडर र टिपर गुडेको अवाज सुनेपछि साथी रोशन यादवसँग त्यसतर्फ गएको उनको परिवारले जनाएको छ । त्यहीँ उनलाई टिपरले किचेर हत्या गरिएको साथी रोशन गाउँमा आएर जानकारी गराएका थिए ।

दिलीपको किचेर हत्या गरेको ना ७ ख ६४१३ टिपर र चालक महोत्तरी बर्दिबास–९ का ३४ वर्षीय मुनिन्द्र महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रण गरिएको टिपर घटनास्थलबाट २ सय मिटर दुरीमा रहेको चुरियामाई बालुवा प्रशोधन उद्योगको रहेको प्रहरीले जनाएको छ ।

यसरी गाउँ खेतवारीलाई बचाउन चाहने सुन्दर भविश्यको अन्त्य भएको छ । आफ्नो फाइदाकालागि नदि दोहन गरिरहेका माफियाहरूले एक सक्षम युवाको जीवनलिला नै समाप्त पारिदिएका छन् ।

देशमा कानुन भए पनि त्यसको प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा यस्ता माफियाहरू बेला-बेला सलबलाउने गरेका छन् । दिलीपलाई उचित न्याय मिलोस् ।