एक व्यक्तिले अन्धाधुन्ध खुर्पा प्रहार गर्दा प्रहरीसहित चार जना घाइते

भक्तपुर । भक्तपुर नगरपालिका १० मा एक व्यक्तिले अन्धाधुन्ध खुर्पा प्रहार गर्दा दुई प्रहरीसहित चार जना घाइते भएका छन् ।

जाजरकोटको नलगाढ नगरपालिका १ बस्ने २० वर्षीय राम बहादुर विकले शनिबार साँझ अन्धाधुन्द खुर्पा प्रहार गरेका थिए । उनले प्रहार गरेको खुर्पा लागेर ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका १० घर भइ भक्तपुर नगरपालिका १० को कमलविनायक बस्ने ६० वर्षीया भुनामाया थापा, ४५ वर्षीया राजमती ज्याकी बन्जार, महानगरीय प्रहरी प्रभाग व्यासीमा कार्यरत प्रहरी हवलदार जितेन्द्र प्रसाद यादव र प्रहरी जवान टोल बहादुर श्रेष्ठ घाइते भएका छन् ।

खुर्पा प्रहार गरेर भाग्दै गरेका विकलाई दोकोचामा प्रहरीले नियन्त्रणमा लिने क्रममा खुर्पा प्रहार गर्दा बा २ झ १८५ नम्बरको प्रहरीको सीआरभी भ्यानको सिसा फुट्नुको साथै सञ्चार बेस सेटमा समेत क्षति पुगेको महानगरिए प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

घाइते भएकी थापाको मध्यपुर अस्पतालबाट थप उपचारको लागि छाउनीको नेपाली सेनाको अस्पतालमा रिफर गरी उपचार भइरहेको छ भने ज्याकी बन्जारको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उनले त्यसरी किन खुर्पा प्रहार गरेका हुन् भन्‍ने विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।