सानो सर, ठूलो सम्मान

० अक्षरपाटी विशेष

विद्यार्थी पढाउनु, शिक्षादिक्षा दिनु, फेरि नयाँ अनुहारका विद्यार्थीलाई उसैगरि पढाउनु शिक्षकको नियमितता हो । आफूले पढाएका विद्यार्थी को कहाँ पुगे ? के गर्दैछन् ? यसको लेखाजोखा राखिसाध्य कहाँ हुन्छ र ?

तर ‘सानो सर’ भनेर चिनिने कृष्णप्रसाद कोइराला (कृष्ण कोपिला)लाई भने ३० वर्षअघि आफूले पढाएका विद्यार्थी को के गर्दैछन् भन्ने ‘अपडेट’ छ । करिब २ हजार विद्यार्थीसँग उनको अहिले पनि नियमित सम्पर्क छ । कुराकानी हुन्छ ।

सिन्धुपाल्चोकको मान्ङ्खामा जन्मिएका उनी १६ वर्षमै सिन्धुपाल्चोकको लामोसाँघुमा शिक्षक भए । उनले गाउँको सेतीदेवी सारदा प्राविमा धेरै विद्यार्थीलाई पढाए । पछि आफ्नी पिताजी पशुपतिनाथ कोइरालाले २०१६ सालमा संस्थापक भएर स्थापना गरेको कुपकन्या माविमा पनि पढाए । २०३१ देखि २०४३ सम्म सिन्धुपाल्चोकमा पढाएका र २०४ पछि काठमाडौंको कन्या क्याम्पस, कन्या स्कुल र आदर्श योगहरीमा पढाएका विद्यार्थीले उनलाई बिर्सिएका छैनन् ।

‘हरेक दिन दर्जनौँसँग कुरा हुन्छ,’ कृष्ण कोपिलाले भने, ‘दुई हजार विद्यार्थी सम्पर्कमा मात्र होइन, कुराकानी नै हुन्छ, त्यसमध्ये १७ सय जति त अस्टे«लिया र अमेरिकामा छन् ।’ उनले पढाउँदा विद्यार्थीलाई माया र आक्रोस उत्तिकै देखाए । बदमासी गर्ने विद्यार्थीका लागि उनी ‘क्रुर’ शिक्षक थिए । राम्रो गर्नेका लागि प्रेमिल र उर्जाका स्रोत ।

‘अरु शिक्षकले आँखा तर्दा पनि अर्कोदिन अभिभावक विद्यालयमा आइपुग्थे,’ कृष्ण कोपिला सरले भने, ‘मैले भने निर्ममतापूर्वक कुट्दा पनि विद्यार्थी कहिल्यै टाढा भएनन् ।’ त्यसको कारण थियो, उनी गल्तीको महसुस गराएर कुट्थे, अर्थात जायज कारणसहित कुट्थे । अनि राम्रो गर्ने विद्यार्थीलाई उनी यति धेरै प्रोत्साहन दिन्थे कि, त्यो विद्यार्थीलाई उनी एकछिनका लागि ‘हिरो’ सावित गरिदिन्थे ।

काम विशषले विदेश जाँदा अहिले तिनै ‘कुटेर माया गरेका’ विद्यार्थीले उनलाई पच्छ्याउँछन् । घुम्न जाँदा सबैको मन राख्न उनलाई हम्मे हम्मे पर्छ । गुरु आउँदा अस्टे«लिया, अमेरिकामा बासोबास गरिरहेका उनका विद्यार्थी ‘पाहुना सत्कार’का लागि तँछाडमछाड गर्छन ।

‘सयौँ विद्यार्थी छन्, एक एक दिन पाहुना बनौँ भने पनि चार पाँच वर्ष उतै गुज्रन्छ,’ पुराना शिक्षक कृष्णले भने, ‘समयसीमाका कारण आफ्नै विद्यार्थीसँग माफी मागेर फर्कनुपर्ने हुन्छ ।’

याद अनेक
शिक्षक बनेर पढाउँदाका अनेक सम्झना छातिभरि संगालेर हिँडेका छन्, कृष्ण कोपिला । आफ्नै विद्यार्थीको उनी भाइ पनि बने । ‘म १६ वर्षको मात्रै थिएँ, त्यसबेला दुई, तीन कक्षामा पढ्ने विद्यार्थी पनि आफूभन्दा ठूला ठूला हुन्थे,’ उनले सम्झिए, ‘मलाई अतिरिक्त क्रियाकलाप गरिरहनुपर्ने हुन्थ्यो, एकदिन स्कुलमा नाटक प्रदर्शन गर्नुपर्ने भयो, त्यसका लागि दिदीको पात्र कोही थिएन, तीनमा पढ्ने विद्यार्थी उमेर मेरै जति भए पनि उनी अग्ली थिइन, अनि तिनै छात्रा विष्णुदेवीलाई दिदी बनाएर म भाइको भूमिकामा देखिएँ ।’

यस्ता अरु पनि सम्झना छन् उनीसँग । एकदिन उनी कसैको उपचारका क्रममा भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पताल पुगे । कसैले आएर उनलाई सम्मानका साथ नमस्कार गर्यो ।

कृष्ण कोपिला सरले उनलाई ‘तिमी यहाँ पो छौँ’ भन्दा डाक्टर सुरज बज्राचार्य खुशी भए । डाक्टर बज्राचार्यले ‘सर यता आउनुस न’ भन्दै किनारतिर बोलाए र दुखेसो गरे, –‘सरले अब त मलाई माया गर्न छोड्नु भएछ’ भने ।

कृष्ण कोपिलाले ‘किन ?’ भनेर सोध्दा डा बज्राचार्यले भने, ‘‘तँ’ भन्नुहुन्थ्यो, ‘तिमी’ भन्दा नरमाइलो लाग्यो’ भन्दै गुनासो पोखेको उनी याद गर्छन ।

करिब ३५ वर्ष अध्यापन गराउने यात्रामा उनले झण्डै पाँच हजार विद्यार्थी कुटे । यो दौरानमा एकजना विद्यार्थीलाई कुटेकोमा भने उनलाई अहिले पनि ग्लानी छ ।

आदर्श योगद्वारिमा ११ कक्षा पढाउँदाको कुरा हो, सबैलाई नेपाली किताब लिएर आउनु भनेको थिएँ, सबैले ल्याए अन्तिम बेन्चमा बस्ने एउटा विद्यार्थीले ल्याएका थिएनन् । शिक्षक कृष्ण कोपिलाले ‘किन नल्याएको ?’ भनेर सोधे । तीं विद्यार्थीले ‘पसलमा पाएन सर’ भने ।

आदर्शवादी शिक्षक कृष्ण कोपिला आज पनि त्यो घटना सम्झन्छन्, ‘बिचैमा केशव पाण्डे भन्ने विद्यार्थी उठेर चामलको पसलमा…मात्र भनेका थिए मैले जुल्फी समातेर भित्तामा पछारिदिएँ । तर कुरो अर्कै रहेछ । पछि उनी अफिस रुममा आएर भनेपछि निकै ग्लानी भयो ।’

केशव पाण्डेले चामलको पसलमा किताब खोज्यौ होला, पुस्तक त पुस्तक पसलमा पो पाइन्छ भन्न खोजेका रहेछन् । कृष्ण कोपिलाले अहिले पनि पछुतोपूर्ण स्वरमा भने, ‘मैले पुरा कुरा नसुनी कुटेँ, पछि उनीसँग सरी पनि भने, त्यो सम्झँदा अहिले पनि पछुतो लाग्छ ।’ अरुका गल्तीलाई सच्याउन कुट्ने ‘सानोसर’ आफ्नो गल्ती स्वीकार्दा सानो नभइने आदर्शलाई अहिले पनि अनुसरण गर्छन ।

२४ वर्ष १७ घन्टा श्रम
आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरन्जन कृष्ण कोपिला सरको जीवनमा कहिल्यै लागू भएन । २०३१ देखि काम गर्न थालेका ०४६ सालपछि उनले जीवनका २४ वर्ष दिनको १७ घन्टा निरन्तर काम गरे । २०४३ सालपछि राजधानी छिरेका उनी इमानमा बाँच्न खोजे । ‘इमानले बाँच्न मिहिनेतको विकल्प छैन,’ उनले भने, ‘त्यो भएर त्यसरी काम नगरी सुखै थिएन ।’

शिक्षक राजनीतिका क्रममा उनले करिब ६ महिना जेलमा विताए । त्यसपछि गाउँ फर्किर उनले विद्यालय छोडे । २०४३ यता काठमाडौंमै बसेका कृष्ण कोपिलाले त्यसपछि आफ्नो जिन्दगीलाई मेसिनजस्तै बनाए । प्राइभेटबाट एसएलसी, आईए गरेका उनले अब राजधानीमा रेगुलर बिएड पढाई सुरु गरे, एमए पनि प्राइभेटबाट गरे । ‘पढेर मात्र हुने अवस्था थिएन, केही गर्नुपर्ने वाध्यता थियो,’ उनले भने, ‘काका पर्ने देवीदत्त पौडेलले मलाई जागिर लगाइदिनुभयो ।’

अनि उनले ०४३ देखि अमेरिकन लगानीमा सञ्चालित बज्र होटेलमा बिल कन्ट्रोलरको काम गरे । डिउटी आठ घन्टा गर्नुपथ्यो । दिउँसो उनी आदर्श योग स्कलमा पढाउँथे । बज्र होटेलमा उनले विहान ६ देखि ९ बजे र साँझ ५ देखि १० बजेसम्म काम गरेर आठ घन्टा सेवा गरे । यो क्रम ३१ वर्ष चल्यो । २०७४ देखि भने उनी रिटायर्ड लाइफ बिताइरहेका छन् ।

राजनीतिमा रस
कृष्ण कोपिला सिन्धुपाल्चोकमा पढाउँदाताका सरकारले शिक्षकका लागि कुनै सेवा सुविधाको व्यवस्था गरेको थिएन । त्यहीबेला सबै शिक्षकको अभिभावक संस्था नेपाल राष्ट्रिय शिक्षक संगठनले आन्दोलनका लागि आह्वान गर्यो । तत्कालीन अध्यक्ष जनकराज प्याकुरेल, महासचिव देवीप्रसाद ओझाले आन्दोलनका लागि देशभरबाट शिक्षकलाई काठमाडौं बोलाए ।

आन्दोलनका लागि कृष्ण कोपिला सर सिन्धुपाल्चोकबाट झोलाभिम्टी बोकेर राजधानी आए । उनले ल्याएको व्याग काभ्रेमा एकजना चिनेको घरमा राखे । म आए आउँछु, नआए कोही आउला उसलाई मेरो झोला दिइदिनु भनेर रत्नपार्क आए ।

‘सयौँ शिक्षक भेला भएका थियौँ, एकाएक प्रहरीले घेरा हालेछ,’ उनले सम्झिए, ‘यसो हेर्दा त कोही पनि थिएन, पक्राउ पर्नेमा म, धादिङका तत्कालीन अध्यक्ष राजेन्द्र पाण्डे, पाँचथरका बलराम अर्याल, सिन्धुपाल्चोकका तत्कालीन अध्यक्ष अग्नी सापकोटा, ध्रुब पराजुली, रामशरण दाहालगरि ६ जना मात्रै थियौँ ।’

महेन्द्र पुलिस क्लबका तत्कालीन प्रमुख अच्युतकृष्ण खरेलले उनीहरुलाई गाडीमा राखेर लगे । दुई रात एउटा पागल थुनेको कोठामा राखियो । ‘मानसिक सन्तुलन बिग्रिएको थुनुवाले भित्ताभरी दिशाले लेखेको थियो, निकै गनायो,’ पुलिस हिरासतमा बस्नुपर्दाको दिन उनले याद गरे ।

दुईदिनपछि उनीहरुलाई राजबन्दीका रुपमा पुर्जि दिएर जेलमा लगियो । त्यहाँ दमननाथ ढुंगाना, प्रदिप गिरी, गोपालप्रसाद भट्टराई, मार्सलजुलुम शाक्य, शिवप्रसाद कंगालजस्ता त्यहाँ राजबन्दीहरुसँग उनीहरुको भेट भयो । ‘राजबन्दीको हैसियतमा थुनिएकाले हामीलाई सेतो चामल दिइन्थ्यो, लुगा घोइदिने व्यवस्था थियो,’ ६ महिनापछि आफू र बलराम अर्याललाई छोडेको क्षण सम्झँदै भने, ‘एकाएक बोलाएर हामीलाई छोडियो, साथीहरुलाई जान्छौँ है पनि भन्न पाएनौ, निकै नरमाइलो लाग्यो ।’

त्यसपछि कृष्ण कोपिला अर्यालसँग कैदीबन्दीको पोशाकमै साँझतिर काठमाडौंमा भएको एक आफन्तको घर पुगे । जेल बसाइमा उनले पाएको प्रदिप गिरीको विद्वता र लियोनार्दो दा भिन्चीजस्ता लाग्ने शिवप्रसाद कंगालको स्वाभिमानलाई अहिले पनि बिर्सेका छैनन् ।

‘शिवप्रसा कंगालले सहिदको टाउकोमा पाँचवा सहिद भन्ने लेख लेखेकै भरमा जेल भोग्नुपरेको थियो,’ उनले भने, ‘काँग्रेस भएर पनि अहिले उनी कतै बालुवा बोकेर जीवन चलाइरहेको भिडियो मैले युट्युबमा हेरेको थिएँ ।’

शिक्षकको हकहितका लागि लड्ने क्रममा जेल परेपछि भने उनलाई राजनीतिमा चाख बढ्यो । उनले २०४२ सालमा नेकपा मसालको सदस्यता लिए । आजसम्म पनि उनले सदस्यता रिन्यू गरिरहेका छन् ।

बज्र होटेलमा काम गर्दा गर्दै होटेलमा काम गर्दा गर्दै २०५८ को एकदिन होटेल अगाडि रहेको बिजुलीको ट्रान्समिटर पड्कियो । त्यसको संका उनीमाथि गरियो । सेनाले उनलाई पक्रेर लग्यो । ‘त्यो मैले पड्काएको त थिएन तर तर सेनाले म माओवादीको बुद्धिजीवी विभागमा छु भन्ने पुरा प्रमाण जुटाएर मलाई समातेको थियो,’ उनले भने, ‘सेनासँग मैले २०४३ मा ताहाचल क्याम्पसमा स्वागत भाषण गरेको रेकर्ड पनि थियो ।’ उनले सेनालाई आफू अन्याय, अराजकता र भ्रष्टाचारको विरुद्धमा आमोवादी हुनुपरेको इमान्दार कुरा गरेपछि सेनाले ‘अब दोस्रोपटक समात्नुपर्यो भने जिउँदो छोड्दैनौ’ भन्ने सर्तमा उनलाई रिहा गर्यो ।

कम्युनिष्ट विचारधारा बाकेर हिँडेका कृष्ण कुसुम आजको युगमा माओत्सेतुङको पालाको कम्युनिज्म सम्भव नहुने देख्छन् । ‘माक्सवादी सिद्धान्तमै हिँड्ने हो भने विप्लवको बाटो ठिक छ,’ उनले भने, ‘माओ त कम्युनमै बस्थे, अहिलेको टेक्नोलोजीको युगमा त्यो सम्भव छैन । अहिले छापामार युद्ध पनि कल्पना मात्रै हो ।’ आधुनिक युगमा माओको सिद्धान्त धर्मशास्त्रजस्तो बनाएर हुँदैन भन्ने उनको ठम्याइ छ । देशमा कम्युनिष्ट शासन आए पनि संसारमा कतै त्यो नभएकाले नेपालमा त्यो सम्भव नभएको उनले बुझेका छन् ।

२०३९ सालमै पौढ शिक्षक भएर काम गर्दा उत्कृष्ट पौढ शिक्ष्क भनेर उनलाई शिक्षा मन्त्रालयले नगद पुरस्कारसहित प्रमाणपत्र दिएको थियो । त्यसपछि २०६६ सालमा शिक्षा दिवशमा जिल्ला शिक्षा समिति काठमाडौंले उनलाई उत्कृष्ठ शिषक भन्दै ताम्रपत्रसहित सम्मान गर्यो ।

अहिले किप इन टुर्स एन्ड ट्राभल्सको अध्यक्षका रुपमा उनी काम गरिरहेका छन् । कहिल्यै फुर्सदिला बस्न नसक्ने उनी अहिले पनि सिन्धुपाल्चोकको आफ्नै गाउँमा मुलथला बहुद्देश्यि कृषि फार्ममा बाख्रा र लोकल कुखुरा पाल्दै आएका छन् । हाल नेपाल कम्युनिष्ट पार्टी समर्थित नेपाल बुद्धिजीवी संगठनको केन्द्रीय समितिको सचिवालय सदस्यमा प्रस्तावित कृष्ण कोपिला सँधै सिद्धान्त र संघर्षमा अडिग देखिन्छन् ।

लामो कालखण्ड शिक्षक भएर विताएका कृष्ण कोपिला सरलाई अबको शिक्षा कस्तो हुनुपर्छ ? भन्दा उनले भने, ‘जनवादी शिक्षाको कुरा पनि उठ्यो, त्यो के हो भन्दा उत्तर पाइएन, त्यसैले अबको आवश्यकता व्यवहारिक शिक्षा हो, यसको विकल्प छैन ।’