सुदूरपश्चिममा पहिलो पटक स्मरणशक्ति अभिबृद्धि कार्यक्रम हुने

अत्तरिया । कैलालीको अत्तरियामा स्मरण शक्ति अभिवृद्धि कार्यक्रम आयोजना हुने भएको छ । ‘परिवर्तनका लागि नौलो सोच’ भन्ने नाराका साथ जिनियस बिज लाइफ भैरहवाको व्यवस्थापकीय सहयोगमा अत्तरियामा रहेको क्वालिटी एजुकेसन जोन प्रालीले कार्यक्रमको आयोजना गर्न लागेको हो ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको बारेमा जानकारी दिइएको छ । यही माघ १८ गते हुने कार्यक्रम सुदूरपश्चिममा नै पहिलो पटक आयोजना भैरहेको आयोजक क्वालिटि एजुकेशन जोनका सञ्चालक मदन जोशीले जानकारी दिए । विद्यार्थीहरू मात्र नभएर शिक्षक तथा अभिभावक जुनसुकैले पनि कार्यक्रममा सहभागिता जनाएर फाइदा लिन सक्ने छन् ।

कार्यक्रम मार्फत हुने सम्पूर्ण आम्दानीलाई सामाजिक कार्यमा लगाइने जोशीले बताए । अन्तराष्ट्रियस्तरमै ख्याती प्राप्त प्रशिक्षक नबल पजियारले कार्यक्रमका सहभागीहरूलाई प्रशिक्षण दिने कार्यक्रम संयोजक जय बहादुर धामीले बताए । १० वर्ष उमेरसमूहभन्दा माथीका जुनसुकै व्यक्तिले पनि कार्यक्रममा सहभागीता जनाउन पाउने उनले बताए ।

यसैगरी कार्यक्रमका निर्देशक सुर्य बोहराले कार्यक्रममा करिब ३ लाख ३५ हजार लगानी लाग्ने अनुमान गरेको बताए । उनले अत्तरियास्थीत सोल्टी होटलको सभाहलमा आयोजना हुने कार्यक्रममा करिब ५ सय जना प्रशिक्षार्थीहरु सहभागी हुने अपेक्षा लिएको बताए ।

कार्यक्रममा सहभागीताका लागी ४ सय प्रवेश शुल्क तोकिएको छ । मस्तीस्कमा भएको तनावको बोझलाई नभई सोचलाई परिवर्तन गरी दैनिक जिवनलाई कसरी सहज बनाउन सकिन्छ र कुनै पनि कुरालाई कसरी सजिलै छोटो समयमा लामो अबधी सम्म स्मरण गर्न सकिन्छ भन्ने बिषय बस्तुमा रहेर प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।