आबुधाबीमा भएको बस दुर्घटनामा तीन नेपाली महिलासहित ६ जनाको ज्यान गयो

एजेन्सी । यूएईको आबुधाबीमा भएको बस दुर्घटनामा तीन जना नेपाली महिलासहित ६ जनाले ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुमा प्युठानकी भावना कुँवर , झापाकी कृष्णकुमारी अधिकारी र ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङ रहेको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ ।

यूएईको एमबीएम कम्पनीमा सरसफाइसम्बन्धी काम गर्ने महिला कामदार बोकेको मिनिबस बिहीबार बिहान आबुधाबीको अल रहा क्षेत्रमा लरीमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा अन्य ज्यान गुमाउनेमा बसका चालक एक पाकिस्तानी पुरुष, एक श्रीलङ्काली र एक जना अफ्रिकन महिला कामदार रहेका छन् ।

काममा जान २४ जना कामदार चढेको बस दुर्घटना हुँदा घाइते भएका अन्य १४ जनाको नाम र ठेगाना खुलेको छ । घाइते १४ जनामध्ये पाँच जनाको आबुधाबीको खालिफा सिटीमा रहेको एनएमसी अस्पतालमा उपचार भइरहेको छ । सिन्धुपाल्चोककी माया तामाङ र सरिता थापा, झापाकी तुलसा थापा र पवित्रा गुरुङ तथा ईलामकी सिता सुब्बाको एनएमसी अस्पतालमा उपचार भइरहेको छ ।

घाइते पाँच जनाको माफ्राक अस्पतालमा उपचार भइरहेको छ । मकवानपुरको टिस्टुङ पालुङकी रिता सिवाकोटी, चापागाउँ ललितपुरकी कमला नेपाली, झापाकी मुना राई, दाङ घोराहीकी आशा घर्ती मगर र सुजला विश्वकर्मा छन् । त्यही अस्पतालमा उपचारत चितवनकी निर्मला प्रजा सामान्य उपचारपछि बिहीवार साँझ नै कम्पनीको क्याम्पमा फर्किसकेकि छिन ।

त्यस्तै अलरहा अस्पतालमा मकवानपुर हेटौँडाकी मिना सिंह, नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा उपचाररत छन् । घाइते १२ जनाको अवस्था सामान्य रहे पनि नुवाकोटकी सरिता तामाङको अवस्था भने चिन्ताजनक रहेको अस्पताललाई उद्धृत गर्दे दूतावासले जनाएको छ ।