महंगी निकै बढेको राष्ट्र बैंकको ठहर

काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष उपभोक्ताको भान्छा निकै महँगो भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मङ्सिर महिनाको वित्तीय प्रतिवेदनमा महँगी निकै बढेको देखाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक स्थितिमा मंसिरसम्म ६.५५ प्रतिशत मूल्यवृद्धि भएको देखाएको छ । गत वर्षको मंसिरसम्म यस्तो मुद्रास्फीति ३.७१ प्रतिशत थियो ।

कात्तिकमा यस्तो मुद्रास्फीति ५.७६ प्रतिशत थियो । एकै महिनामा मूल्यवृद्धि ०.७९ प्रतिशतले बढेको हो । खाद्य तथा पेय पदार्थ र गैरखाद्य तथा सेवा क्षेत्रको महँगी अचाक्ली बढेको देखिएको छ ।

राष्ट्र बैंकका अनुसार गत वर्ष मङ्सिरमा खाद्य तथा पेयपदार्थ ०.४६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ६.३४ प्रतिशत थियो । तर, यो वर्षको मङ्सिरमा खाद्य तथा पेय पदार्थ ९.७६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ४.१० प्रतिशत रहेको छ ।

गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । यस महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, मसला, फलफुल र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ ।

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरणहरू उपसमूहको मूल्य बढेको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा सबैभन्दा बढी महङ्गी छ । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.६० प्रतिशत, तराईमा ६.६६ प्रतिशत, पहाडमा ५.२७ प्रतिशत र हिमालमा ४.८३ प्रतिशत मूल्यवृद्धि भएको छ । २०७५ मङ्सिरमा यी क्षेत्रहरूमा क्रमशः ३.६८ प्रतिशत, ३.६५ प्रतिशत, ३.८४ प्रतिशत र ४.०५ प्रतिशत मूल्यवृद्धि रहेको थियो ।