चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या १७ पुग्यो

एजेन्सी । कोरोना भाइरसको संक्रमण चिनमा फैलिँदै गएको छ । कोरोनाको संक्रमणबाट चीनमा हालसम्म १७ जनाले ज्यान गुमाइसकेका छन् ।

मानवीय क्षति बढेपछि चीनले वुआन सहरलाई नै शिलबन्दी गरेको छ । उक्त सहरमा देशभरका मानिसहरूको आवागमनमा प्रतिबन्ध लगाएको छ ।

चीनको वुआनमा मात्रै ५०० जनामा यो भाइरसको संक्रमण देखिएको छ । चीन सरकारले मानिसबाट मानिसमा सर्ने यो भाइरस रोकथामका लागि नयाँ वर्ष अर्थात लुनारमा यात्रा गर्न प्रतिबन्ध नै लगाइदिएको छ । लुनारमा करोडौं मानिसहरू देशभित्र र बाहिर यात्रामा जाने गर्छन् ।

डब्लूएचओको आकस्मिक बैठक बस्दै सबैभन्दा पहिले चीनमा देखिएको कोरोना भाइरस अमेरिकासम्म फैलिसकेको जनाइएको छ । भाइरसबाट संक्रमित व्यक्ति चीनको वुआनबाटै अमेरिकाको सियाटल पुगेका थिए ।

कोरोना भाइरस फैलिएपछि अमेरिकाले विमानस्थलहरुमा स्वास्थ्य परीक्षण केन्द स्थापना गरी स्वास्थ्य जाँचमा कडाइ गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले संक्रमण फैलिँदै गएपछि बुधबार आकस्मिक बैठकसमेत बसेको थियो ।