हिउँदको चिसोमा प्लाष्टिकको छानामुनि कैदीबन्दी

डोटी । जिल्ला कारागार डोटीका कैदीबन्दी चिसो मौसममा पनि कष्टकर जीवन बिताउन बाध्य भएका छन् । २५ जना कैदीबन्दीको क्षमता रहेको कारागारमा क्षमताभन्दा झण्डै दोब्बर कैदी राखिँदा समस्या भएको हो । पानी पर्दा छाना चुहिने भएकाले प्लाष्टिकको छाना बनाएर सुत्न बाध्य भएका छन् । वर्षौं पुरानो कारागार जीर्णभएको छ ।

कारागारमा पुरुष ४३ र महिला चार गरी ४७ बन्दी छन् । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले कारागार चुहिने भएकाले कैदीबन्दीलाई समस्या भएको बताए । “भवन पुरानो छ बेलाबेलामा पानी पर्दा चुहिन्छ”, उनले भने, “कारागार मर्मतका लागि बजेट माग गरेका छौँ, आएको छैन ।”

सरकारले जीर्ण भएको डोटी कारागार टालटुल गरे पनि पानी चुहिने काम नरोकिँदा कैदीबन्दीलाई समस्या भएको हो । छानाबाट पानी चुहिने भएकाले प्लाष्टिक राखेर कैदीबन्दी सुत्न बाध्य भएका हुन् ।

कारागारका छानामा राणाकालमा लगाइएका स्लेट खिएर झर्न थालेको कैदीबन्दीका नाइके दीपेन्द्र जेठाराले बताए ।