काँग्रेसको १४ औँ महाधिवेशन ०७७ फागुनमै

काठमाडौं । नेपाली काँग्रेसको १४ महाधिवेशन २०७७ फागुनमै गर्ने निर्णयलाई आज बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको छ । गत पुस ११ मा बहुमतीय आधारमा पार्टी सभापति शेरबहादुर देउवाले ७७ फागुन ७ देखि १० सम्म १४ औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेका थिए । उक्त निर्णलाई आज बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो ।

पुस ११ गतेकै निर्णयलाई आज सर्वसम्मत अनुमोदन गरिएको पार्टी प्रवक्ता विश्वप्रकास शर्माले जानकारी दिए । पत्रकारसँग कुरा गर्दै उनले केन्द्रीय महाधिवेशन ०७७ फागुनमा गर्ने, क्रियाशील सदस्यतालगायतमा सहमतिअनुसार अघि बढ्ने निर्णय बैठकले अनुमोदन गरेको जानकारी गराए । जिल्ला अधिवेशनको कार्यतालिका यसअघिको भन्दा फेरबदल हुने शर्माको भनाइ थियो ।

पुस ११ को निर्णयलाई लिएर काँग्रेस नेता रामचन्द्र पौडेललगायतले बिरोध गर्दै आएका थिए । पुस ११ को निर्णयविरुद्ध संस्थापन इतरका नेताहरुले आफू निकट जिल्ला सभापतिहरुको भेला समेत बोलाएका थिए । तर उक्त भेलामा सहभागी जिल्ला सभापतिहरुलाई पार्टी सभापति देउवाले चियापानका लागि घरमै बोलाएर ‘मलाई किन खबर नगरेको, मेरो पनि कुरा राख्थेँ, तपाईँहरुको पनि कुरा सुन्थे’ आसयको कुरा गरेपछि उनीहरु मौन भएका थिए ।

पार्टीका युवा नेता एनपी साउद, गगन थापा, चन्द्र भण्डारीलगायतको सक्रियतामा सभापति र पौडेललाई भेटेर मध्यस्थता गरेपछि सहमतिमै अघि बढ्न काँग्रेस शीर्ष नेता सहमत भएका थिए ।