एक वर्षपछि नेवि संघले पायो नेतृत्व, अध्यक्षमा ढुंगाना

काठमाडौं । नेतृत्वविहीन भएको एक वर्षपछि काँग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नेतृत्व पाएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले युवा तथा विद्यार्थी नेता राजीव ढुंगानाको अध्यक्षतामा तीन सदस्यीय तदर्थ समिति घोषणा गरेका हुन् ।

२०७५ माघ २८ गते नेविसंघका तत्कालीन अध्यक्ष नैनसिंह महरको समिति विगठनपछि नेविसंघ नेतृत्वविहीन बनेको थियो । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा ‘कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ फाल्गुण १ गतेको बैठकको निर्णय अनुसार, कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम रिक्त हुन गएको नेपाली कांग्रेसको भ्रातृ संस्था ‘नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति’ को गठन पार्टी सभापति शेरबहादुर देउवाद्वारा गर्नु भएको छ’ उल्लेख गरिएको छ ।

तदर्थ समितिमा दुई जना महामन्त्री मनोनित भएका छन् । काठमाडौंका मनोज बैद्य र पाल्पाकी महेश्वरी कुँवर तदर्थ समितिको महामन्त्रीमा मनोनित भएका छन् । उनीहरुलाई आजको मितिबाट ६ महिनाभित्र नेपाल विद्यार्थी संघको १२ औं केन्द्रीय अधिवेशन सम्पन्न गर्ने कार्यभार तोकिएको छ । संघको तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यको मनोनयन यथाशिघ्र हुने विज्ञप्तिमा जनाइएको छ । तदर्थ समितिमा मनोनित हुनेले आगामी महाधिवेशनमा भाग लिन नपाउने पनि विज्ञप्तिमा स्पस्ट पारिएको छ ।

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ फाल्गुण १ गतेको बैठकको निर्णय अनुसार, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम रिक्त हुन गएको नेपाली कांग्रेसको भ्रातृ संस्था “नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति” को गठन पार्टी सभापति शेरबहादुर देउवाद्वारा देहाय बमोजिम गर्नु भएको छ ।

१. श्री राजिव ढुंगाना (सुनसरी) –अध्यक्ष
२. श्री मनोज बैद्य (काठमाण्डौं) –महामन्त्री
३. श्री महेश्वरी कुँवर (पाल्पा) –महामन्त्री

यस तदर्थ कार्यसमितिले–
(१) आजको मितिले ६ महिनाभित्र नेपाल विद्यार्थी संघको आगामी १२ औं केन्द्रीय अधिवेशन सम्पन्न गर्नेछ ।
(२) आगामी १२ औं अधिवेशनसम्म नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले प्रयोग गर्ने विधान बमोजिमका काम, कर्तव्य र अधिकारको प्रयोग गर्नेछ ।
(३) तदर्थ कार्यसमितिमा रहेकाहरु आगामी केन्द्रीय अधिवेशनमा उम्मेदवार हुन पाउने छैनन ।
(४) यस अघि कायम रहेको नेपाल विद्यार्थी संघ केन्द्रीय कार्य समिति विघटन भएको मिति (२०७५ माघ २९ गते) सम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीहरुले नेपाल विद्यार्थी संघको आगामी १२ औं अधिवेशनमा भाग लिन पाउनेछन ।

नेपाल विद्यार्थी संघ तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशिघ्र गरिनेछ ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव