सञ्चार विधेयकमा निरंकुशता अंगालिएको छः छाँया सञ्चारमन्त्री तामाङ

काभ्रे । जबरजस्ती जनताको वाक स्वतन्त्रता हक खोसेर सरकारले सञ्चार विधेयकमा निरंकुशता अँगालेको भन्दै छायाँ सरकारका सञ्चारमन्त्री तथा काँग्रेस नेता बहादुरसिंह तामाङले आपत्ति जनाएका छन् ।

काभ्रेको रोशी गाउँपालिका ८ खार्पाचोकमा खार्पाचोक युवा क्लबद्वारा आयोजित ल्होछार कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य समेत रहेका सांसद तामाङले तत्कालीन नेकपा माओवादीले नुवाकोटको ककनीमा ताम्सालिङ घोषणाका क्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले निम्तो दिँदा सिंहदरबारको डबलीबाट घोषणा गर्ने हो भने उपस्थित हुनेछु नत्र आश्वासन सुन्न नआउने जवाफ दिएको स्मरण गरे ।

कार्यक्रममा बिशेष अतिथि पूर्व सभासद एवं नेका काभ्रे क्षेत्र नम्बर १ का सभापति तिर्थबहादुर लामाले बहुजातीय र समतामूलक समाजमा सांस्कृतिक अपनत्व सबैले स्विकार्नुपर्ने बताए । उनले विगतमा शासन र प्रशासन तहमा पिछडिएका समुदायको उपस्थिति गराउनुपर्छ भनेर हिंसात्मक आन्दोलन गरे तर त्यसको प्रतिफल ठिक उल्टो भएको बताए ।

रोशी गाउँपालिका अध्यक्ष डिबी मोक्तानले पुर्खाहरुले भिमफेदीमा गाडी र रानीवनबाट दाउरा बोकेको इतिहास नभुलेको बताउदै माओवादी आन्दोलनले पनि मुक्तिको नाममा समुदायको हितमा आधार बनाउन नसकेको जिकिर गरे ।

नेपाल तामाङ युवा घेदुङका केन्द्रीय उपाध्यक्ष संगम लामाले युवाहरू एक भएर लागेमात्रै पुर्खाको सांस्कृतिक नासो संरक्षण गर्न सकिने बताए ।

युवा घेदुङकै केन्द्रीय अध्यक्ष विलम मोक्तानले हाम्रो बाजेले चलाएको संस्कारलाई अनुसरण गर्दै समयानुकूल विकास गरेपछि मात्रै संस्कृति संरक्षण हुने बताए । कार्यक्रम प्रारम्भमा बुद्धपार्कको प्रमुख अतिथि तामाङले लामा गुरुहरुको मोलमपाठ सँगै शिलान्यास गरेका थिए ।