भिजिट नेपाल ‘बेइज्जत नेपाल’ नहोस

नुवाकोट स्थायी घर भएका कथाकार, लेखक तथा गजलकार कृष्ण कुसुम यतिबेला अमेरिकाको न्यूजर्सी राज्य सरकार अन्तर्गत सडक विभागमा इन्जीनियरको रुपमा कार्यरत छन् । साहित्य, लेख र आलेखमार्फत नेपाली जीवनसँग प्रत्यक्ष सरोकार राख्ने कुसुमले नेपाल भ्रमण वर्ष २०२० लाई कसरी हेरेका छन् ? स्वदेशमा फैलिएको पर्यटन प्रवद्र्धनको सन्देश विदेशमा कस्तो छ ? यसै सेरोफेरोमा अक्षरपाटी डट कमका लागि रोहित गिरीले उहाँसँग गरेको संवादः

नेपालको पर्यटन भ्रमण वर्ष २०२० लाई विदेशमा बसेर कसरी हरिरहनुभएको छ ?

नेपाल पर्यटन भ्रमण वर्ष २०२० नेपाल चिनाउने र नेपालको आयश्रोतको हिस्सा पर्यटन क्षेत्रलाई बलियो बनाउने महत्वपूर्ण अवसर हो भनेर बुझेको छु । तर अलि चासो राखेर नजिकबाट हेर्दा काम कम हल्ला बढी हो कि जस्तो लाग्छ । केहि दिन अघि मात्र अष्ट्रेलियाबाट नेपाल जानु भएका एकजना साथीको फेसबुक पोष्टले पनि अझ त्यो कुरा पुष्टि भए झैं लाग्यो । काठमांडूको अन्तर्राष्ट्रीय विमानस्थलबाट विराटनगर उड्न लाग्दा शौचालय गर्न जानु भएछ । दिशापिसाब गरेर हेर्दा न त ट्वाइलेट पेपर र न धारामा पानी । ‘देशको एकमात्र अन्तर्राष्ट्रिय र सबैभन्दा सुविधा सम्पन्न भनिएको विमानस्थलको डोमेस्टिक टर्मिनलको व्यवस्था यो गति छ के कुरा गरौं भिजिट नेपालको ?’ भनेर लेख्नु भा’थ्यो । यी र यस्तै स–साना कुरामा पनि ध्यान दिन नसक्दा भिजिट नेपाल भन्दा ‘बेइज्जत नेपाल’ हुन नपुगोस् भन्ने चाहाना हो ।

तपाई बसिरहेको मुलुक अमेरिकामा नेपालको भ्रमण वर्षबारे कत्तिको सन्देश पुगेको पाउनुभएको छ ?

पहिलो कुरा त अमेरिकामा धेरैलाई नेपालबारे भन्नुपर्दा देश चिनाउनबाट शुरु गर्नुपर्छ । राष्ट्रपतिजस्तो मान्छेले देशको नाम उच्चारण बिगारिदिन्छन् । अब यो देशमा केहि भइरहेकोछ भन्ने बुझाउन कति गाह्रो होला आफैं अन्दाज गर्नुस् । न्यूजर्सीमा बस्छु । यो न्यूयोर्क शहरसंग जोडिएको ठाउँ हो । धेरै नेपाली न्यूयोर्क शहरमा बस्ने कारण र धेरै नेपाली संघसस्थाको पहलमा केहिपटक नेपाल भ्रमण बर्षबारे प्रचार प्रसार कार्यक्रम भएको थाहा छ । यो राम्रो पहल हो तर यतिले नै भ्रमण बर्षबारे यहाँका नागरिक अवगत छन् जस्तो लाग्दैन ।

जसरी नेपालमा २० लाख पर्यटन भित्र्याउने अपेक्षा राखिएको छ, विदेशीमा त्यो आकर्षण फैलाउन त्यहीअनुरुप खटिएको पाउनु हुन्छ कि हुन्न ?

यो प्रश्नको जवाफ सायद मेरो अघिल्लो उत्तरमा नै पाउनु भयो होला । हामी ‘आइडेन्टी क्राइस’मा रहेको देशको गतिविधि यता खासै जानकारी छैन र भ्रमणप्रतिको आकर्षण फैलिएको जस्तो मलाई चैं लाग्दैन । त्यस्तो प्रचारप्रसार गर्छु भनेर यहाँसम्म कोही आइपुगेजस्तो पनि लाग्दैन ।

नेपाल प्राकृतिक, सामाजिक र सँस्कृतिका हिसाबले सुन्दर देश हो, तर विदेशीलाई आकर्षण गर्न व्यवस्थित गर्नुपर्ने विषय के हुन जस्तो लाग्छ ?

यसको लागि विशेष योजनासहित नितिगत रुपमा नै अगाडी आउनु पर्छ । अझ भनौं उच्च सरकारी स्तरबाट हरेक देशको विदेश मन्त्रालयमार्फत नै जनस्तरमा सूचित हुने प्रकारको कार्यक्रम ल्याउन जरुरी छ । परराष्ट्र मन्त्रालयल, एनआरएन समेत दूतावासले पहल गर्दा राम्रो हुन्छ, त्यो कमै भएजस्तो लाग्छ । हामी पहल गरिरहेको जस्तो त गर्छौं तर त्यसले प्रभाव पार्यो कि पारेन अध्ययन गरेर पुनः मूल्यांकन गर्दैनौं । गर्न त अमेरिकाको धेरै शहरमा नेपाल सरकारले पर्यटन दूत र वाणिज्यदूतहरु तोकेको छ । तर ती दूतहरुले सॉंच्चै प्रभावकारी काम गरेका छन् त ? कि नेपाली समुदायको कार्यक्रमहरुमा मञ्चमा आशन ग्रहण र खादा माला लाउन मात्र सो पदको उपयोग गरेका छन् ? यस्ता कुरा केलाएर प्रभावकारी बनाएर लैजादॉं उपयुक्त होला ।

नेपालबाट हेर्दा विदेशमा पर्यटन भ्रमण वर्षको व्यापक प्रचार गरिएको जस्तो पारिएको छ, के साँच्चै विदेशमा उपयुक्त सन्देश प्रवाह भएको छ त ?

यो प्रश्न पनि माथीकै उत्तरले दिइसकेका छन् । विश्वका अरु देशको कुरा के हो मलाई थाहा भएन तर अमेरिकाको कुरा गर्दा चैं नेपाली बिचको हल्ला मात्र ठूलो देख्नु भा हो तेहॉंबाट हेर्दा । बाहिरका मान्छेले थाहा पाएको जस्तो लाग्दैन हामी आफू आफूमा मात्र रमाईरहेका छौं कि ?

पर्यटन क्षेत्रलाई दिगो र सदाबहार बनाउन आवश्यक पर्ने कुरा के हो ?
यसको लागि त एकदमै आवश्यक कुरा भनेकै लङटर्म भिजन सहितको उपयुक्त व्यवस्थापन नै हो । दूरदर्शी रुपमा लामो समयावधिको लागि राम्रो योजना र सो अनुसारको व्यवस्थापन । तेसो गर्न सकेको खण्डमा हामीले अहिले देखिरहेका कमी कमजोरी समाधान हुन्छन् । र समयक्रममा राम्रो कामको प्रभाव त अवश्य पनि देखिन्छ नै ।

विदेशीलाई रुचीकर बनाउन सकिने नेपालको विशेष आकर्षण के हो ?

प्रकृतिले धेरै थोक दिएको छ । माल पाएर चाल नपाएको मात्र हो । नेपालमा विदेशीलाई लोभ्याउने मुख्य कुरा त हिमाल नै हो जस्तो लाग्छ । नेपाल र माउण्ट एभरेष्ट बारे जान्ने विदेशी साथीहरुको पहिलो प्रश्न नै एभरेष्ट चढेको छस् भन्ने हुन्छ । हिमालसंगै बन्जी र राफटिंग, रक क्लाम्बिंग तथा स्केटिंग जस्ता गतिविधिमा पनि रमाउंन सक्छन् । नेपालमा मात्र पाइने वन्यजन्तु हेर्न जंगल सफ़ारी यी र यस्तै कुरा हुन् । मुख्य कुरा आफूसंग भएको कुराको प्रचार प्रसार र राम्रो व्यवस्थापन गर्न सक्नुपर्छ । यति भनिरहंदा सडक, यातायात र बस्ने होटलहरुलगायतका कुराहरुको स्तर पनि व्यवस्थापन संग जोडिएर आउंछन् ।