सुवोधको शतकीय पारीले डीसीएको शानदार जित

मुम्बई । कप्तान सुवोध ऐरको शतकीय पारीको मद्दतले धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले मुम्बईमा शानदार जित हात पारेको छ । डीसीएले स्थानीय जोली ब्रदरर्स क्रिकेट क्लबलाई एक सय १० रनले पराजित गरेको हो । यो संगै मुम्बईमा पाँच मैत्रीपूर्ण एकदिवसीय खेल खेलिसकेको डीसीएले तीन खेलमा जित निकालेको छ । भने, दुई खेल गुमाएको छ ।

सोमबार क्रस मैदानमा टस हारेर पहिले ब्याटिङ्गको निम्तो पाएको निर्धारित ३५ ओभर पुरै खेल्दै सात विकेटको नोक्सानमा दुई सय २८ रन बनायो । डीसीएको जितमा कप्तान सुवोध ऐरले कप्तानी पारी खेल्दै सतक बनाए । उनले मात्र ८९ बलमा एक सय ६ रन बनाए । उनको ब्याटबाट १६ चौका निस्केको थियो ।

डीसीएले उच्च स्कोर बनाउने क्रममा कप्तान ऐर र अर्का प्रारम्भिक ब्याट्सम्यान रोहन विकले पहिलो विकेटको लागि ६३ रनको साझेदारी गरे । क्याच आउट भएका रोहनले ३१ रन बनाए । उनले पाँच चौका पनि हानेका थिए । यस्तै, डीसीएको जितमा सोनु मण्डलको पारी पनि निकै महत्वपूर्ण रह्यो । उनले अर्ध शतक बनाए । चौथो विकेटको रुपमा कप्तान सुवोध र सोनुले सबैभन्दा बढी एक सय २४ रनको साझेदारी गरे । क्याच आउट हुनु अगाडि सोनुले ४९ बलको सामना गर्दै ६५ रनको योगदान गरे ।

सिजन कुँवरले पाँच, सन्दिप आउजीले ८ र विनोद विष्टले दुई रन बनाएर नटआउट रहे । बलिङ्ग गर्दै जोलीका अथर्भले सर्वाधिक चार विकेट लिए पनि डीसीएलाई रन बनाउनबाट रोक्न सकेनन् । सात ओभर बलिङ्ग गरेका उनले ४२ रन खर्चेका थिए ।

यसैगरी, देव अलिमक, अजहर मन्सुरी र रियान साहले समान एक÷एक विकेटको सफलंता हात पारेका थिए । विशाल लक्ष्य पछ्याउन मैदानमा उत्रेको जोली ब्रदर्श ३२ ओभरमा अलआउट हुँदै एक सय १८ रनमा समेटियो । उसका अजहर मनसुरीले ३१ र देवले १८ रन बनाए । अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

जोलीको पारीलाई धराशयी पार्ने क्रममा डीसीएका १० वर्षीय खेलाडी सुवोध तिवारीले सर्वाधिक तीन विकेट लिए । सोनु मण्डल र निशान पन्तले दुई÷दुई, कुश मण्डल र राजन लोहनीले समान एक÷एक विकेट हात पारे । मुम्बई टुरमा रहेको डीसीएले अब दुई खेल मुम्बईको कल्याणमा खेल्नेछ ।