रामनगरमा गोली चल्यो, नेकपा र काँग्रेस कार्यकर्ताको झडपमा एकको ज्यान गयो

सर्लाही । सर्लाहीको रामनगरमा नेकपा र कांग्रेस समर्थकबीच झडप भएको छ । झडपमा गोली चल्दा एक कांग्रेस समर्थकको मृत्यु भएको छ। झडपमा अन्य चार जना घाइते भएका छन्।

गोली प्रहारबाट रामनगर गाउँपालिका–४ बहुअर्वाका ६० वर्षीय रामविलास महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। म‌ंगलबार बिहान ८ बजे भएको घटनामा महतोको घटनास्थलमा नै मृत्यु भएको हो। अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

दिउँसो १ बजेसम्म घटनास्थलमा प्रहरी पुग्न सकेको थिएन । गोली कसले चलायो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पुस्तैनी राजनीतिक विवादका क्रममा गोली चलेको हुन सक्ने प्रहरीको अनुुमान छ।

मृतक महतो रामनगर गाउँपालिका ४ मा कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष रामनरेश महतोका काका हुन्। वडा अध्यक्षमा कांग्रेसबाट महतो निर्वाचित भएपछि तत्कालीन माओवादी समर्थकसँग पटकपटक विवाद हुँदै आएको छ। सोमबार वडा अध्यक्ष महतोलाई नेकपाका कार्यकद्वारा हातपात समेत गरिएको थियो ।