सय वर्ष थेग्ने मापदण्ड बनाउन पोखरालाई सांसदहरुको सुझाव

पोखरा । पर्यटकीय नगरी पोखरालाई व्यवस्थित र सुन्दर बनाउनुका साथै सय वर्ष थेग्न सक्ने भवन तथा पूर्वाधार निर्माण मापदण्ड बनाउन महानगरपालिकालाई सांसदहरुले सुझाव दिएका छन् ।

पोखरा महानगरपालिकाद्वारा गठन गरेको विज्ञ समूहले तयार पारेको भवन तथा पूर्वाधार निर्माणसम्बन्धी मापदण्ड २०७५ बारे सुझाव लिन आयोजित कार्यक्रममा सांसदहरुले पोखराको सौन्दर्य नबिग्रने गरी मापदण्ड बनाउनुपर्ने सुझाव दिएका हुन् ।

दीर्घकालीन सोच राखेर महानगरले काम गर्नुपर्नेमा सुझाव दिँदै छलफल कार्यक्रममा जनप्रतिनिधिले कार्यान्वयन गर्न सकिने र दूरगामी महत्व राख्ने मापदण्ड बनाउन सुझाव दिएका हुन् ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य वृन्दा रानामगरले पोखराको भौगोलिक अवस्थालाई हेरेर भौतिक संरचना निर्माण गर्नुपर्ने बताए । सार्वजनिक जग्गाको संरक्षण गर्दै हचुवाको भरमा नभई दीर्घकाललाई ध्यान दिएर भवन तथा पूर्वाधार निर्माणको मापदण्ड तयार पार्नुपर्नेमा उनको जोड थियो ।

गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले भवन र पूर्वाधार निर्माणको मापदण्ड बनाउँदा एक इन्च पनि सम्झौता नगरी पोखराको भविष्यलाई हेरेर बनाउनुपर्ने बताए ।

प्रदेशसभा सदस्यद्वय प्रभा कोइराला र मित्रकुमारी सुवेदीले सडकको मापदण्ड बनाउँदा कन्जुस्याइँ नगर्न र प्रत्येक घर निर्माण गर्दा भूमिगत रुपमा पार्किङको व्यवस्था गर्नुपर्ने सुझाव दिए । प्राकृतिक स्रोत साधनको जथाभावी दोहन रोक्ने खालको मापदण्ड तयार गरेर पोखराको सौन्दर्य जोगाउनुपर्नेमा प्रदेशसभा सदस्य राजीव पहारीको जोड थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारी, रामजी बरालले वैज्ञानिक मापदण्ड तयार गरी निर्ममरुपमा कार्यान्वय गर्नुपर्ने सुझाव दिए। पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विज्ञ समूहले तयार पारेको मापदण्डका बारेमा सरोकारवाला निकायसँग रायसुझाव लिएर नै त्यसलाई कार्यान्वयन तहमा लैजाने प्रतिबद्धता व्यक्त गरे ।