फुटबल क्लबलाई ललितपुर महानगरको सहयोग

काठमाडौं । ललितपुर महानगरपालिकाले ललितपुर जिल्लाका पाँचवटा ‘ए’ डिभिजनसहित ११ क्लबलाई आज आर्थिक सहयोग प्रदान गरेको छ ।

ललितपुर महानगरपालिकाले आज पाँच ‘ए’ डिभिजन क्लब, चार ‘बी’ डिभिजन क्लब र दुई ‘सी’ डिभिजन क्लबलाई ६१ लाख आर्थिक सहयोग प्रदान गरेको हो ।

महानगरपालिकाले ललितपुरका पाँच ‘ए’ डिभिजन क्लब थ्री स्टार, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लबलाई समान रु चार/चार लाख प्रदान गरेको हो । थ्री स्टारलाई भने थप २८ लाख प्रदान गरेको छ । गत वर्ष सातवटा प्रतियोगिताको उपाधि जितेर जिल्लाको गरिमा बढाउने काम गरेको भन्दै महानगरले प्रत्येक उपाधिबापतको चार लाखका दरले थ्री स्टारलाई २८ लाख थप सहयोग प्रदान गरेको महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।

थ्रीस्टारले गत वर्ष सहभागिता जनाएका १६ प्रतियोगितामध्ये सातवटाको उपाधि जितेको थियो । यसका साथै क्लब र महानगरबीच फुटबलको विकासका लागि वार्षिकरुपमा सहयोग गर्ने गरी सम्झौता पनि भएको छ ।

यस्तै महानगरपालिकाले ‘बि’ डिभिजनका सातदोबाटो युथ क्लब, खुलमलटार युथ क्लब, झम्सिखेल युथ र पुल्चोक युथ क्लबलाई समान तीन÷तीन लाख उपलब्ध गराएको छ । त्यस्तै ‘सी’ डिभिजनका दुई क्लब खालीबारी युथ क्लब र सानेपा युथ क्लबलाई रु दुई/दुई लाख प्रदान गरेको छ ।

आज महानगरद्वारा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, महानगरका प्रमुख चिरिबाबु महर्जनले सहयोग रकम क्लबलाई हस्तान्तरण गरे ।