प्रदेश ३ का मुख्य मन्त्रीमाथि स्थापितको गम्भिर आरोप, डोरमणिको सिआईएसँग साँठगाँठ भएको दावी

काठमाडौं । प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा विकास मन्त्रीबाट बर्खास्तमा परेका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलको सिआईएसँग साँठगाँठ भएको आरोप लगाएका छन् । उनले भने, ‘ललितपुरको भैसेंपाटीमा उहाँको सयन कक्ष छ । उहाँको त्यो कार्यालय द एशिया फाउण्डेशनको फण्डिङमा फर्निसिङ गरिएको छ । भैंसेपाटीको त्यही घरमा उहाँले रसगुल्ला र रसपान गर्नुहुन्छ भन्छन् । तर, त्यो रसगुल्ला र रसपान के हो ? मलाई थाहा छैन् । त्यो अफिसको सबै स्टाफ र फर्निचरको फण्डिङ द एशिया फाउण्डेशनले गरेको छ ।’

मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा स्थापितले प्रदेश नम्बर ३ को अवधारणापत्र बनाउनका लागि पनि मुख्यमन्त्री पौडेलले ‘द एशिया फाउण्डेशन’ को आर्थिक सहयोग लिएको आरोप लगाए । उनले भने, ‘यत्रो पैसा लिनुभन्दा पहिले केन्द्र सरकारको अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट स्विकृति लिनुपर्दैन् ? यो विषय मन्त्रालयमा छलफल भएको छैन् । मुख्यमन्त्रीले अहिले प्रदेश नम्बर ३ को योजना आयोगको शाखा कार्यालय त्यही भैंसेपाटीको घरलाई बनाएका छन् ।’ यो विषयलाई आफूहरुले अब संसद खुल्नेबित्तिकै जोडदार रुपमा उठाउने उनले बताए ।

साक्षात्कारमा आक्रोसित हुँदै स्थापितले मुख्यमन्त्रीले आफूलाई विभिन्न पार्टी डुलेर आएको कारणले कारबाही गरेको भनेको प्रसँग कोट्याए । उनले थपे, ‘स्वयम् अहिलेको प्रधानमन्त्रीले मलाई मेरो खुट्टा भाँच्चिएको दिन डाकेर केशब तिम्रो र मेरो आन्द्रा गाँसिएको छ । तिम्रो मनको सपनाको एक प्रतिशत पनि दियौं भने यो मुलुक बन्छ भनेर म गएको हुँ । यो पूरानो ईस्यु हो । यसको कुनै सान्दर्भिकता छैन् ।’

मुख्यमन्त्री पौडेलविरुद्ध खनिएका उनले भने, ‘सफलता र असफलताको कुरा उठाउने ? उहाँ हेटौंडाको १० वर्ष मेयर भएको मान्छे होइन, त्यहाँ सहिद पार्कबाहेक अरु के छ ?’

मुख्यमन्त्री पौडेललाई ईमानका साथ बोकेको पनि उनले स्पष्ट पारे । उनले भने, ‘हाम्रोमा पार्टीभित्र गुट छ । मैले पनि मुख्यमन्त्रीमा दाबी गरेको हो । सभामुखमा पनि दाबी गरेको हो । अहिलेको डोरमणिको दाबी थिएन् । बरु अष्टलक्ष्मीको दाबी थियो । उहाँकहाँ गएर मलाई पूर्वाधार मन्त्री बनाउनु भनेर पौडेल हिँडेको हो । उहाँको हैसियत नै त्यही हो । त्यसपछि पार्टीभित्र चलखेल भएपछि भोटिङमा २४ र ३४ भयो । हामी सबै उपत्याकाले बोकेको र भोट हालेको कारण हेटौंडाको एउटा कुनामा बसेको मान्छे मुख्यमन्त्री भयो । आज दम्भ देखाउने ? अहिले भर्खरै एउटा पत्रिकामा व्यंग्य आएको थियो । श्रीपेचको चोरी भनेर । यदि त्यो श्रीपेच चोरी भयो भने मेरो मुख्यमन्त्रीलाई लाईदिए भयो । अरे बाबा सर्वेसर्वा हुन्छ त ? संसद छैन । संविधानले व्यवस्था गरेको कुरालाई नाघेर हिँड्न पाईन्छ ?’

उनले मुख्यमन्त्री पौडेलले सिआईएको पैसा लिएर जिल्ला–जिल्ला र क्षेत्र–क्षेत्रमा गएर कार्यक्रम सञ्चालन गरेको पनि गम्भिर आरोप उनले लगाए । उनले भने, ‘सिआईएको पैसामा कार्यक्रम सञ्चालनमात्रै होईन, यहाँको सबै सूचना लिएर अनि सिआईएलाई समर्पण गर्ने मान्छे नेकपाको सदस्य हुन सक्छ र ?’

उनले भने, ‘हिजो काग तिहार । अरुबेला लखेट्ने कागको तिहार छ । आज चाहीँ जहिल्यै पनि लात हान्ने कुकुरको दिन आईरहेको छ । हिजो अस्ती छेउ पर्न दिँदैन थियौं । तर, आज उनीहरुको त दिन आएका छन्’, उनले व्यंग्य गरे ।