नेविसंघले जलायो प्रधानमन्त्रीको पुत्ला, आन्दोलन शसक्त पार्ने अध्यक्ष महरको चेतावनी

काठमाडौं । नेपाल विद्यार्थी संघले आज देश ब्यापी प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । नेविसंघले प्रधानमन्त्रीको तस्बिर बिगारेर फेसबुकमा सेयर गरेको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो ।

तपेश्वर माध्यामिक विद्यालय काभ्रेका इकाई सभापति कृष्ण ढकालले कुकुर तिहारको दिन प्रधानमन्त्री ओलीको टाउकोसँग कुकुरको शरिर भएको तस्बिर सामाजिक सञ्जालमा भेटिएको र सोही तस्बिर आफ्नो फेसबुकवालमा सेयर गर्दा उनलाई प्रहरीले पक्राउ गरेको बिरोधमा नेविसंघ देशब्यापी आन्दोलित भएको हो ।

नेविसंघ केन्द्रीय कार्यसमितिले काठमाडौंको प्रदर्शनी मार्गमा आज (सोमबार) पाँच बजे बेलुकी आयोजना गरेको पुत्लादहन पछिको कोणसभालाई सम्बोधन गर्दै नेविसंघ अध्यक्ष नैनसिंह महरले ओली सरकार तानासाहि बन्दै गएको आरोप लगाएका छन् । ‘लोक तन्त्रमा आफू विरुद्ध बोल्नै हुँदैन, कसैले बोल्दै पाउँदैन भन्ने मान्यता राख्नु चरम तानासाहि प्रवृति हो’, अध्यक्ष महरले भने, ‘कसैले सामाजिक सञ्जालमा पोष्ट गरेको कुरा अरुले सेयर गरेकै भरमा पक्राउ गर्नु कत्तिको न्यायसंगत हो?’ उनले आफ्ना कार्यकर्तालाई तत्काल रिहाई गर्न समेत माग गरेका छन् ।

वीपी कोइरालाले आफ्ना कम्जोरी औल्याउन आग्रह गर्नेगरेको स्मण गर्दै अध्यक्ष महरले वर्तमान सरकार दुई तिहाई बहुमत प्राप्त भएपनि निरिह बनेको आरोप लगाएका छन् । गलत कुराको विरोध गर्दा उक्त कुरालाई सम्बोधन गर्दै जनप्रिय सरकार बन्नु पर्नेमा वर्तमान सरकार जनताको आवाजनै दवाउन तर्फ लागेको आरोप लगाउँदै महरले यो सरकारको कम्जोर मानसिकताको प्राकाष्टा भएको बताए । ढकालको विनासर्त रिहाई नगरे सरकारविरुद्ध देशव्यापी आन्दोलन चर्काउने समेत नेविसंघको चेतावनी छ ।

उता नेविसंघको आन्दोलनका कारण इकाई सभापति ढकालको गृह जिल्ला काभ्रेमा पनि शैक्षिक संस्थापूर्णरुपमा बन्द भएका छन् । दिउसभरी जिल्लामा आन्दोलनकारी र प्रहरीबीच तनाव सिर्जना भएको छ ।