भारतले बनाइदियो कास्कीमा तीन शिक्षालयको भवन

कास्की । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले शनिबार लेखनाथ नगरपालिकामा रहेको सरस्वती टिका उच्च माध्यमिक विद्यालयको नयाँ भवन उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा भारतीय दूतावासका मिशन उप–प्रमुख डा. अजय कुमार उपस्थित थिए । डा. अजय कुमारले लक्ष्मी आदर्श महुमुखी क्याम्पस र गुप्तेश्वर महादेव महुमुखी क्याम्पसको नयाँ भवनको उद्घाटन गरेका थिए ।

सरस्वती टिका उच्च माध्यमिक विद्यालय ३७.१० मिलियन नेपाली रुपैयाँ बराबरको भारतीय सहयोगमा भवन निर्माण गरिएको होे । राष्ट्रिय परिक्षा बोर्डसँग आबद्ध उक्त विद्यालयले १० जोड २ तहका विभिन्न कार्यक्रम प्रदान गर्दै आएको छ । उक्त विद्यालयले त्यहाँ अध्ययनरत विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । सो विद्यालयमा अध्ययनरत झण्डैै ११ सय विद्यार्थीमध्ये ४५ प्रतिशत छात्रा छन् ।

४८.४० मिलियन नेपाली रुपैयाँ बराबरको भारतीय सहयोगमा लक्ष्मी आदर्श बहुमुखी क्याम्पसको भवन निर्माण भएको हो । त्रिभुवन विश्वविद्यालयसँग आबद्ध उक्त क्याम्पसले शिक्षा संकायमा स्नातक तहसम्म चार वर्षे पूर्णकालिन कार्यक्रम एवं १० जोड २ तहमा व्यवस्थापन, शिक्षा र मानविकी संकाय संचालन गर्दै आएको छ । यस क्याम्पसमा ४ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

नेपाली रुपैयाँ ४१.१० मिलियन बराबरको भारतीय सहयोगमा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको भवन निर्माण भएको छ । यो त्रिभुवन विश्वविद्यालयसँग आबद्ध छ । यहाँ बि.एड., बिबिएस र एमबिएस संकायमा पढाइ हुँदै आएको छ । यसै वर्षदेखि यस क्याम्पसले बिएचएम र बिआईएम संकायमा पनि अध्यापन शुरु गरेको छ । यस क्याम्पसमा ४ सय १८ जना विद्यार्थी अध्ययनरत छन् ।

नवनिर्मित संरचनाहरु (सभा हल, कम्प्युटर ल्याब, पुस्तकालय, आदि)ले विद्यार्थीका लागि अध्ययन गर्ने वातावरणलाई थप उर्जाशील बनाउनुका साथै कास्की, स्याङजा, पर्वत, म्याग्दी र तनहुँ जिल्लाका थुप्रै विद्यार्थीका लागि शिक्षाको पहुँच सहज हुने अपेक्षा गरिएको छ ।