लिटिल फ्लावर प्रिमियर लिगः लिटिल बुद्ध र लिटिल फ्लावर  भिड्दै

धनगढी । धनगढीमा जारी तेस्रो लिटिल फ्लावर प्रिमियर लिगको उपाधिका लागि लिटिल फ्लावर धनगढी र लिटिल बुद्ध महेन्द्रनगर भिड्ने भएका छन् । आज भएका सेमिफाईनलमा जित हात पार्दै दुवै टोली आमने साने हुन लागेका हुन् । लिटिल फ्लावरले पहिलो सेमिफाईनलमा  साविक विजेता सिद्धार्थ सिसु सदनलाई ५ विकेट हरायो भने लिटिल बुद्धले दोस्रो सेमिफाईनलमा हिमालयन ह्वाईट हाउस काठमाण्डौंलाई १३ रनले किनारा लगायो । दुवै टोली बीचको भिड्न भोली विहान १० वजे धनगढी स्थित संघीय प्रहरी ईकाई कार्यालयको खेल मैदानमा हुनेछ ।

पहिलो सेमिफाईनलमा टस जितेर पहिला ब्याटिङ गरेको डिफेन्डिङ च्याम्पियन सिद्धार्थ शिशु सिद्धार्थले २० ओभरमा ८ विकेट गुमाउँदै १०२ रनको स्कोर बनायो । सिद्धार्थको लागि गजेन्द्र बोहराले सर्वाधिक ३९, खडक बोहराले २२, सुविन महराले १३ र सुरेन्द्र साउँदले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन अंक छुन सकेनन् । सिद्धार्थलाई सस्तैमा समेट्ने क्रममा लिटिल फ्लावरका शेर मल्लले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । सुरज तिरुवाले ४ ओभरमा १८ रन खर्चिदै २ तथ विक्रम ठगुन्ना र सागर भण्डारीलेएक एक विकेट लिए ।

सिद्धार्थले दिएको १०३ रनको लक्ष्य लिटिल फ्लावर स्कुल धनगढीले १७.२ ओभरमा ५ विकेट गुमाउँदै पुरा ग¥यो । लिटिल फ्लावरको जितमा सुरज तिरुवाले अविजित ५१, शैलेश अवस्थीले २० रन बनाए । सुरुवाती ३६ रनमा ५ विकेट गुमाएको लिटिल फ्लावरको लागि छैटौं विकेटको रूपमा सुरज र शैलेशले ६७ रनको महत्वपूर्ण साझेदारी गर्दै आफ्नो टीमलाई जिताएका हुन् । सिद्धार्थका कप्तान शैलेश जिसीले ३ तथा गजेन्द्र बोहोरा र सबिन महराले एक एक विकेट विकेट लिए । सो खेलमा लिटिल फ्लावरका सुरज तिरुवो म्यान अफ द म्याच भए ।

दोस्रो सेमिफाईनलमा टस जितेर पहिले ब्याटिङ गरेको लिटिल बुद्ध एकेडेमी महेन्द्रनगरले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १५० रनको योगफल बनायो । लिटिल बुद्धका लागि नारायण जोशीले ५९, हेमन्त कार्कीले ३९, हेमन्त धामीले १४ तथा शुसिल खड्काले १२ रन बनाए । हिमालयन ह्वाईट हाउसको लागि अंकित सुवेदी र शुशान्त सिहले ३÷३ विकेट तथा फ्रिदोस अन्सारी, अमृत सिंह र रमेश भट्टले एक एक विकेट लिए ।

लिटिल बुद्ध एकेडेमीले जितको लागि दिएको १५१ रनको लक्ष्य पछ्याएको हिमालयन ह्वाईट हाउस भने २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रन मात्रै बनाउन सक्यो । हिमालयनका लागि अकित सुवेदीले २७, सन्जय श्रेष्ठले २१, अमृत सिहले १९ रनको महत्त्वपूर्ण इनिङ खेले पनि टिमलाई जित दिलाउन सकेनन ।  लिटिल बुद्धका रोचक ऐरले ३, विवेक यादवले २ तथा नारायण जोशी र हेमन्त जोशीले एक एक विकेट लिए

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ प्राप्त गर्नेछ। उपविजेताले ५५ हजार ५ सय ५५ नगदका साथै ट्रफी पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट वलर र उदयमान खेलाडीलाई नगद ५ हजार सहित ट्रफी प्रदान गरिने प्रतियोगिताका निर्देशक कलेन्द्र शाहीले बताए।  प्रत्येक खेलको म्यान अफ द म्याच अन्तर्गत लिग चरणमा प्रति खेल नगद एक हजार, नकआउट चरणमा प्रति खेल नगद एक हजार ५ सय र फाईनलमा नगद २ हजार ट्रफी र प्रमाणपत्र पुरस्कार दिईने उनले बताए।