भारतीय दूतावासद्वारा निर्माण उपकरण प्रदर्शनी

काठमाडौं । भारतीय दूतावास काठमाडौँले भारतीय उद्योग महासंघसँगको सहकार्यमा मंसिर ६ देखि ८ सम्म भक्तपुरको सल्लाघारीस्थित खुल्ला मैदानमा तीनदिने निर्माण उपकरण तथा प्रविधि प्रदर्शनी आयोजना गर्ने भएको छ ।

प्रदर्शनीमा जेसीबी, एल एन्ड एल, हुन्डाइ, क्याटरपिलर जस्ता ठूला भारतका १५० भन्दा बढी कम्पनीहरुले आफ्ना उत्पादन तथा सेवाको प्रदर्शनी गर्नेछन् । दुई लाख वर्ग फिटभन्दा बढी क्षेत्रमा हुने यो नेपालको सबैभन्दा ठूलो निर्माण उपकरण सम्बन्धी प्रदर्शनी हुने विश्वास गरिएको छ । चार हजार भन्दा बढी व्यापारीहरुले यस प्रदर्शनीको अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले प्रदर्शनीको उद्घाटन गर्नेछन् । नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरी विशेष अतिथि रहने प्रर्दशनीमा भारत तथा नेपालका निर्माण व्यवसायका अगुवा, व्यापारिक संघसंस्था तथा नेपाल सरकारका उच्चअधिकारीको पनि पस्थिति रहनेछ ।