काठमाडौंमा क्रोधरहित सम्मेलन

काठमाडौं । ‘आठौँ क्रोधरहित संसार अन्तर्राष्ट्रिय सम्मेलन’ आगामी शनिबार काठमाडौँमा हुने भएको छ ।

क्रोधरहित संसार, ग्लोबल पिस र क्योइष्ट कलेजको संयुक्त आयोजनामा भावनात्मक शिक्षाबाट समाजमा शान्ति स्थापना गर्न सो सम्मेलन गर्न लागिएको हो । सो सम्मेलनमा नेपालसहित भारत, अमेरिका, मलेसिया, इथियोपिया, अष्ट्रेलिया, थाइल्याण्ड, इजिष्टलगायत देशका मनोवैज्ञानिकको सहभागिता रहने क्रोधरहित संसारका अध्यक्ष देशमर्दन बस्नेतले जानकारी दिए ।

मानिसमा रहेको अशान्तिलाई मनोवैज्ञानिक माध्यमबाट शान्ति स्थापना गर्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । सम्मेलनले मानिसलाई कसरी आफूभित्रको चिन्तन हटाई शान्तिपूर्वक बस्न सकिन्छ भन्ने सन्देशसमेत दिने छ । उक्त सम्मेलनमा मनोवैज्ञानिक तथा मानसिक स्वास्थ्य, वुद्ध धर्म र संस्कृति, शान्ति शिक्षा, भावनात्मक साक्षरतालगायत ५३ कार्यपत्र प्रस्तुत गरिने छ ।

सम्मेलनमा क्रोधरहित समाज स्थापना गर्न भूमिका निर्वाह गरेका बेलायतका वरिष्ठ मनोवैज्ञानिक डा एन्टिगोनस सोकसलाई २५ हजार राशी रहेको ‘द डिन अफ पिस’ पुरस्कार प्रदान गरिनेछ । विसं २०६४ देखि हरेक वर्ष नेपालमा उक्त सम्मेलन हुँदै आएको छ ।