सहकार्य गर्न निजी क्षेत्रलाई सरकारको आग्रह

काठमाडौं । सरकारले उद्योगको विकासका लागि सहकार्य गर्न निजी क्षेत्रलाई आग्रह गरेको छ ।

बाहिर गएर यो समस्या भयो, नीति आएन, सरकारले उद्योगमैत्री वातावरण बनाएन भनेर आरोप लगाउनुभन्दा वास्तविक समस्याका विषयमा छलफलका लागि आउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निजी क्षेत्रलाई आग्रह गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले व्यवसायीको उद्योगी मानसिकता नभई व्यापारिक मानसिकता रहेको भन्दै अरुले उत्पादन गरेको वस्तु बेच्नुभन्दा आफैँले उत्पादन गरेर बेच्ने वातावरण तयार पार्न सरकार प्रतिबद्ध रहेकाले छलफलमा आउन व्यवसायीलाई आग्रह गरे ।

उद्योग दिवसका अवसरमा सो मन्त्रालयद्वारा आज राजधानीमा आयोजित ‘नेपालमा उद्योगको अवस्था, चुनौती र सम्भावना’ विषयक अन्तक्र्रियामा मन्त्री यादवले निजी क्षेत्रसँग सरकार सहकार्य गर्न तयार रहेको उल्लेख गरे । उनले भने, ‘नकारात्मक विषयलाई हटाएर सकारात्मक हुँदै सरकारलाई सहयोग गर्नुहोस्, कहाँकहाँ समस्या छन् हामी खोजेर समस्या समाधानमा लागौँ, नेपालमा वातावरण छैन भनेर मात्रै हुन्न, वातावरण बनाउने हामी मिलेर नै हो ।’

मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले उद्योगमा आधारित अर्थतन्त्रले मात्रै विकास सम्भव हुने भन्दै अर्थतन्त्रलाई कसरी स्वस्थ बनाउने भन्ने विषयमा सामूहिक प्रयास जरुरी रहेको बताए । अहिले नकारात्मक कुराका बीचबाट सकारात्मक कामको थालनी भएको जानकारी दिँदै सचिव घिमिरेले विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ भने ।
कार्यक्रममा महासङ्घका पूर्वअध्यक्ष पशुपति मुरारका, व्यवसायी सुमित केडिया, कृष्ण अधिकारीलगायतले नेपालमा प्रतिष्पर्धी र उत्पादन क्षमता कमजोर रहेको भन्दै वर्तमान आवश्यकताअनुसारको नीतिको खाँचो रहेको औँल्याए ।