नयाँ युगको शुरुआत : प्रधानमन्त्री ओली

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी नीर्मला पन्तले चार महिना बित्दा पनि न्याए पाएकी छैनन् । देशमा आर्थिक अनियमितता बढेको छ । सुनकाण्डदेखि हत्या, हिंसा र सामाजिक अपराध बढेको बढ्यै छन् तर प्रधानमन्त्री केपी शर्मा ओलीले‘‘प्रथम सामाजिक सुरक्षा दिवस’ नयाँ युगको शुरुआत भएको बताएका छन् ।

पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस दिवसको दिनबाट सरकारले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र रोजगारी गुमाएका वा नभएका सबैलाई समेट्ने नयाँ प्रणालीको थालनी गरेको दावी गरेका छन् ।

सन्देशमा उनले मङ्गलबारदेखि सामाजिक सुरक्षा योजना लागू भएको बताउँदै आफूले अघिल्लो पटक प्रधानमन्त्री हुँदा नै सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरेका छन् । ‘श्रमको सम्मान गर्ने, सबैलाई श्रममा लाग्न उत्प्रेरित गर्ने र आधुनिक सभ्य समाजअनुरुप सबैको संरक्षण गर्ने प्रणालीमा हामी मङ्गलबारबाटै प्रवेश गर्दैछौँ,’ प्रधानमन्त्रीको सन्देशमा उल्लेख गरिएको छ ।

उनले सबै देशवासीहरुलाई सामाजिक सुरक्षा योजना शुभारम्भको अवसरमा सुरक्षित भविष्यको शुभकामनासमेत सन्देशमार्फत व्यक्त गरेका छन् । मङ्गलबार पहिलो पटक सरकारले सामाजिक सुरक्षा दिवस मनाउँदैछ । प्रधानमन्त्री ओलीले आजै सामाजिक सुरक्षा योजना सुरुवात गर्ने छन् ।