स्थानीय पाठ्यक्रम तयार गर्दै चन्द्रागिरि

चन्द्रागिरि । चन्द्रागिरि नगरपालिकाले स्थानीय पाठ्यक्रममा जुटेको छ । ुऐतिहासिक सांस्कृतिक नगरी, समृद्ध पर्यटकीय चन्द्रागिरि’ नारालाई सार्थक बनाउन नगरपालिका पाठ्यक्रम निर्माणमा जुटेको हो ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले नगरपालिकाअन्तर्गत सञ्चालित विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सर्वाङ्गिण विकासका लागि नगरले स्थानीय पाठ्क्रम निर्माण गरेर लागू गर्न लागेको बताए ।

नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा इतिहास, कला, साहित्य, संस्कृति, भाषा, लिपी, कानून, वन, कृषिलगायतलाई समावेश गरी स्थानीय पाठ्यक्रम बनाउने नीति लिएको थियो ।

पाठ्क्रम निर्माण गर्न नगरपालिका सामाजिक विकास समितिका संयोजक सन्तोष खड्काको संयोजकत्वमा समिति गठन गरिएको छ । सो समितिमा पाठ्क्रम विज्ञ करुणा धिताल, डा गणेशराज अधिकारी, बासुदेव ढुङ्गेल, संस्कृति तथा इतिहासविद् रविन्द्र रिजाल, पर्यटनविद् गुणराज भट्ट, भीम माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्र काप्री, ब्राइट फ्युचर माध्यमिक विद्यालयका प्रधानाध्यापक दयाराम थापा सदस्यमा छन ।

समितिका सदस्य सचिव नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख कर्णबहादुर भुवाजीले स्थानीय पाठ्यक्रमको पाण्डुलिपी लेख्ने काम भइरहेको बताए ।

चन्द्रागिरिले पाठ्यक्रममा चन्द्रागिरिको भूगोल, इतिहास, स्थानीय सरकार, संस्कृति सम्पदा, वन, वातावरण तथा सरसफाइ, स्थानीय आर्थिक विकासका आधार, सामाजिक विकासको अवस्था, चन्द्रागिरि पर्यटन, स्थानीय विकास पूर्वाधार, विपद् व्यवस्थापन र सुरक्षालगायत नौ विषयलाई समावेश गरेको नगरप्रमुख घनश्याम गिरीले बताए।