रुकुम घट्नाको प्रतिवेदन सार्वजनिक : लखेट्दै कुटी कुटी नरसंहार गरेको निश्कर्ष

काठमाडौं । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र जस्टिस एण्ड राईट्स ईन्स्टिच्युट्स (जुरी नेपाल) ले रुकुमपश्चिम जिल्ला चौरजहारी नगरपालिका ८, सोती गाउँमा भएको (सोती नरसंहार) सामुहिक हत्या कान्डको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो । घटनाको स्थलगत अध्ययन टोलीमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष त्रिलोक चन्द विश्वास वि.क. (संयोजक), राष्ट्रिय सभा सदस्य नरपति लोहार (सदस्य), दलित नागरिक समाजका अध्यक्ष मोतीलाल नेपाली (सदस्य), जुरी नेपालका प्रतिनिधि सुन्दर बहादुर सेनी (सदस्य) र दलित नागरिक समाजका अधिकारकर्मी देउमल तिरुवा (सदस्य) सहभागी थिए ।

जाजरकोट जिल्लाबाट अध्ययन टोलीमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, जाजरकोटका जिल्ला अध्यक्ष मानबहादुर सुनार र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, जाजरकोटका परियोजना संयोजक धनमल विक सहभागी थिए । टोलीले जेठ २४ गतेदेखि जेठ २९ गतेसम्म स्थलगत अध्ययन गरेको थियो ।

टोलीले घटना स्थलको अवलोकन गरेको, घटनाका प्रत्यक्षदर्शीसंगको अन्तरवार्ता लिएको र घटनामा संलग्न घाइतेसँग अन्तरर्वाता लिएको थियो । घटनामा मृत्यु भएकाहरुका नातेदारसँग अन्तरवार्ता लिएको र स्थानीय तह थानीय प्रशासन प्रहरी, नागरिक समाज सरोकारवाला निकायसँगको अन्तरवार्ता लिएको र घटनाका तथ्यहरुको अवलोकन गरि प्रतिवेदन तयार गरेर सार्वजनिक गरेको जनाएको छ ।

छानविन टोलीले यो घट्नमा संलग्न दोषीहरुलाई कडाभन्दा कडा कारबाही र पीडित परिवारलाई न्याय दिनुपर्ने माग गरे । डा. त्रिपाठीले कानूनको दृष्टिमा उक्त घट्ना जघन्य अपराध भएको स्पष्ट पारे । हत्यामा जनप्रतिनिधिहरुसमेत सामेल भएको उनको भनाइ छ । योजनावद्ध तरिकाले चारैतिर घेराहाली भाग्न नदिई लखेटि लखेटि कुटी कुटी क्रुरतापूर्वक ६ जनाको नरसंहार गरेको देखिएको टोलीले निश्कर्ष निकालेको छ ।

प्रतिवेदनको निश्कर्षमा भनिएको छ, ‘मिति २०७७÷२÷१० गते सुस्मा मल्लले नवराजलाई साथी लिएर आउनु भनी वोलाएकै कारण १८ जना साथीहरु सहित उनी बेहुली लिन गएका र केटीको घरमा नपुग्दै सुष्मा मल्लकी आमाले त डुम अस्तीको कुटाईले पुगेन रहेछ, आज नमारी छाडदिन भन्दै वडा अध्यक्ष डम्बर मल्लसहित गाउँका सबै मान्छेहरुलाई वोलाई घरेलु हात हतियार लाठ्ठी ढुंगा मुढा प्रयोग गरि ६ जनालाई हत्या गरेको र बाँकि १२ जनालाई समेत मार्ने गरी कुटपिट गर्दागर्दै प्रहरी आईपुगेकोले १२ जनाको ज्यान बचेको हो ।’

निश्कर्षमा थप भनिएको छ, ‘घट्नामा संलग्न मृतकका आफन्त, घाइतेको बयान, घटनाका प्रत्यक्षदर्शी लगायतका भनाइ अनुसार वडा अध्यक्ष डम्बर मल्ल र केटीका बुबा आमा, आफन्त र वडा अध्यक्षको योजना अनुसार सुस्मा मल्लका परिवारले नवराज विश्वकर्मा तल्लो जातिको हो र यसलाई कुनै हालतमा सुष्मा मल्ललाई विवाह गरिदिनु हुँदैन भन्ने सोचका कारण योजनावद्ध तरिकाले चारैतिर घेराहाली भाग्न नदिई लखेटि लखेटि कुटी कुटी ६ जनाको नरसंहार गरेको देखिन्छ । सयौं जनाको हुल आएकोदेखि ज्यान जोगाउन भागेका बालक र युवालाई प्रहरी बोलाई जिम्मा लगाईदिएको भए कसैको पनि ज्यान जाने थिएन । घाईते पनि हुने थिएनन् । नवराजसँग गएका १८ जनाले कसैलाई पनि प्रतिकार गरेर घाईते नबनाएको घटनाको स्थलगत अध्ययनले स्पष्ट पारेकोछ । सोतीगाउँको घटनाको अवस्था बुझ्दा क्रुर, आततायी, अमानवीय, जातिय नरसंहार सामुहिक हत्या भएको ।’