कर्णालीमा एकै दिन निको भए १९१ जना कोरोना संक्रमित

सुर्खेत । कर्णाली प्रदेशमा आज एकै दिन एक सय ९१ जना कोरोना सङ्क्रमणलाई जितेर घर फर्किएका छन । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेख जिल्ला अस्पतालबाट एक सय २०, दुल्लू अस्पतालबाट २७, सल्यान जिल्ला अस्पतालबाट ४१ र प्रदेश अस्पताल सुर्खेतबाट तीन गरी एक सय ९१ जना निको भएर घर फर्किएका हुन ।

कर्णालीमा हालसम्म कोरोना सङ्क्रमित तीन सय ४२ जना निको भई घर फर्केका छन् । स्वास्थ्य महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले कोरोना सङ्क्रमण जितेर घर जानेको क्रम अझैं बढ्ने बताए । पछिल्लो २४ घण्टामा नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा दैलेखका पाँच र सुर्खेतका चार जनामा सङ्क्रमण पुष्टि भएको हो ।

योसंगै कर्णालीमा कूल सङ्क्रमितको सङ्ख्या एक हजार ८६ पुगेको छ भने तीन जनाको मृत्यु भइसकेको छ । सङ्क्रमितहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताइएको छ ।