भारत र चीनका सैनिकबीच भएको भिडन्तमा २० भारतीय सैनिकको मारिए

काठमाडौं । भारतको लद्दाखमा चिनियाँ सैनिकसँग भएको भिडन्तमा मारिने भारतीय सैनिकको सङ्ख्या २० पुगेको छ ।

भारतीय सेनाले मंगलबार राति जारी गरेको वक्तव्यअनुसार चिनियाँ सेनासँग सोमबार राति भएको भिडन्तमा घाइते भएका थप १७ जना भारतीय सैनिकको मृत्यु भएको हो ।

शून्य डिग्री सेल्सिअसभन्दा तलको तापक्रम र उच्च हिमाली क्षेत्रमा लागेका चोटका कारण उनीहरूको मृत्यु भएको बताइएको छ ।

यसअघि मंगलबार गलवान क्षेत्रमा भएको भिडन्तमा एक कर्नेलसहित तीन भारतीय सैनिकको ज्यान गएको भारतीय सेनाले पुष्टि गरेको थियो ।

मृत्यु हुनेमा १६ बिहार रेजिमेन्टका कमान्डिङ अफिसर कर्नेल बी सन्तोष बाबु, ८१ फिल्ड रेजिमेन्टका हवलदार के पलानी र १६ बिहार रेजिमेन्टका सिपाही सुनिलकुमार झा रहेको समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ ।

चिनियाँ पक्षबाट भारतीय सेनासँग भएको हिंसात्मक भिडन्तमा आफ्ना कति सैनिक हताहत भए भन्नेबारे कुनै विवरण सार्वजनिक भएको छैन ।

लद्दाखमा भारतले निर्माण गरेको एउटा सडकबारे चीनले आपत्ति जनाएपछि दुवै पक्षबीच विवाद उत्पन्न भएको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारतीय सैनिकले सीमा नाघेर चिनियाँ सैनिकलाई आक्रमण गरेका कारण दुई पक्षबीच गम्भीर शारीरिक संघर्ष भएको बताएका छन् ।

चीनले आफ्नो पक्षमा भएको क्षतिको पुष्टि नगरे पनि भारतीय सेनाले चिनियाँ सैनिक पनि हताहत भएको दाबी गरेको छ ।