धुलिखेल नगरपालिकाले लकडाउन अवधिको कर नलिने, वृद्धवृद्धा र दलितको कोरोना बिमा गरिदिने

काभ्रे । काभ्रेको धुलिखेल नगरपालिकाले व्यवसायीसँग लकडाउन अवधिको कर नलिने भएको छ । नगर कार्यपालिका बैठकले आफ्नो क्षेत्रका सबैखाले व्यवसायीसँग लकडाउन अवधिभरको कर छुट दिने निर्णय गरेको हो ।

पर्यटन, उद्योग तथा व्यापार व्यवसायीसँग लकडाउन अवधिभरको कर छुट गरिएको नगरप्रमुख अशोक ब्याञ्जूले मिडियालाई बताएका छन । उनले लकडाउनमा व्यापार व्यवसाय ठप्प भएकाले व्यवसायीलाई राहत पुगोस् भन्ने उद्देश्यले यस अवधिको कर छुट दिने निर्णय भएको बताए ।

उनका अनुसार लकडाउन अघिसम्मको कर असार मसान्तसम्म तिर्न व्यवसायीलाई आग्रह गरिएको छ । ‘लकडाउनअघिको कर असार मसान्तसम्ममा तिर्न आग्रह गरेका छौँ, यस करमा पनि जरिवानासमेत मिनाहा गर्ने निर्णय भएको छ,’ ब्याञ्जूले भने ।

यसैबीच नगरले ७० वर्ष नाघेका ज्येष्ठ नागरिक तथा ६० वर्षमाथिका सबै दलित परिवारका सदस्यको ५० हजारसम्मको एकवर्षे निर्जिवन ‘कोरोना बीमा’ गर्ने निर्णय गरेको छ । नगरभित्र करिब एक हजार पाँच सय वृद्धवृद्धा रहेको नगरले जनाएको छ ।