त्रिवि शिक्षण अस्पतालमा भाटभटेनीका अध्यक्ष गुरुङले ११ करोडको अर्को भवन बनाइदिँदै

काठमाडौं । देशकै पहिलो सुपरमार्केट्स भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले त्रिवि शिक्षण अस्पतालमा अर्को भवन बनाइदिने भएका छन् । ११ करोडको लागतमा बन्ने भवनको शिलान्यास गरिएको छ ।

बुधबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भवनको शिलान्यास गरेका हुन् । भवन १० महिनाभित्रै तयार पारेर हस्तान्तरण गरिने भएको छ ।

भाटभटेनी सुपरमार्केट्सका प्रबन्ध निर्देशकसमेत रहेका गुरुङ र भाइ पहलमान गुरुङले स्वर्गीय बुबा वृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको स्मृतिमा भवन बनाइदिन लागेका हुन ।

अध्यक्ष गुरुङका अनुसार १० महिनामा बनाइसकिने नयाँ भवन निर्माणमा करिब ११ करोड रुपैयाँ खर्च लाग्ने छ । बेसमेन्टसहित पाँचतलाको हुने उक्त भवनमा एउटा तला २६ सय वर्गफिटको हुने बताइएको छ ।

गुरुङले यसअघि पनि करिब १० करोड लागतमा त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षसहितको भवन निर्माण गरिदिएका थिए ।