सुदूरपश्चिमको कैलालीमा कोरोनाबाट एक जनाको मृत्यु

कैलाली । कैलालीमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । शनिबार कोरोना पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका –४ का ४६ वर्षीय सङ्क्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसअघि नवजीवन अस्पतालको आइसोलेशन वार्डमा उपचार हुँदा कोरोना पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । उनको आइसियुमा राखेर उपचार भइरहेकाबेला आज साँझ मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए ।

उनको गए रातिदेखि नै स्वास्थ्यावस्था बिग्रिएदेखि नै उपचारका लागि काठमाडौँ लैजान एयर एम्बुलेन्सका लागि पहल भए पनि उपलब्ध हुन सकेको थिएन । उनी भारतबाट सीमा क्षेत्रमा आइपुगेका नेपालीलाई गृहस्थानसम्म ओसार्नमा आफै सक्रिय रहेको बुझिएको छ । सवारी धनी भए पनि ड्राइभरको अभावमा उनी आफै सीमामा आइपुगेका मान्छेलाई ओसार्नमा सक्रिय रहेको बुझिएको छ ।