एकै दिन ५ सय ८६ जनामा संक्रमण पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज एकै दिन नेपालमा पाँच सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन । उनका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पाँच सय ४६ पुरुष र ४० महिलामा सङ्क्रमण देखिएको छ ।

आज देखिएको सङ्क्रमण अहिलेसम्मकै सबैभन्दा धेरै हो । नयाँ सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या सात हजार एक सय ७७ पुगेको छ । तीमध्ये छ हजार ६ सय ३८ पुरुष र पाँच सय ३९ जना महिला छन् ।

नौ जना निको भए
कोभिड– १९ को सङ्क्रमणबाट नौ जना पुरुष निको भई घर फर्किएका छन् । प्रवक्ता डा गौतमका अनुसार महेन्द्र गेनाई अस्पताल सिराहामा छ जना, नारायणी अस्पताल वीरगञ्जमा रौतहटका दुई जना र पर्साका एक जना रहेका छन् ।

अहिलेसम्म एक हजार एक सय ६७ जना डिस्चार्ज भएर घर फर्किएका छन् । तीमध्ये एक हजार ५५ पुरुष र एक सय १२ महिला छन् । यसैगरी अहिलेसम्म एक लाख ४९ हजार सात सय ७२ जनामा पिसिआर, दुई लाख ३३ हजार ९४३ जनामा आरडिटी परीक्षण गरिएको छ ।