कोरोनाबाट भारतमा एकैदिन दुई हजारभन्दा बढीको मृत्यु

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट एकै दिन दुई हजार भन्दा बढीको मृत्यु भएको छ । अघिल्ला दिनहरुमा मृत्यु हुनेहरुको विवरण सयको संख्यामा आउने गरेकोमा बुधबार हजारको संख्यामा आएको छ ।

भारतका स्वास्थ्य अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या २ हजार ३ छ । अघिल्लो दिन मङ्गलबार बिहान उक्त मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा तीन सय ८० जनाको मृत्यु भएको थियो । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या ११ हजार नौ सय तीन पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा १० हजार नौ सय ७४ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या ३ लाख ५४ हजार ६५ पुगेको अधिकारीहरुले जनाएका छन् ।

स्वास्थ्य अधिकारीहरुका अनुसार भारतमा अहिले पनि एक लाख ५५ हजार दुई सय २७ जना सङ्क्रमित अवस्थामै छन् भने अरु एक लाख ८६ हजार तीन सय ९५ जना संक्रमणमुक्त भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कोरोनाभाइरसका कारण मृतकको संख्या एक्कासी बढेकोप्रति चिन्ता व्यक्त गरेको छ ।