क्वारेन्टिनमै बुवाको किरिया !

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधर भट्ट क्वारेन्टिनमै आफ्ना बुबाको किरिया गर्न बसेका छन । भारतको दिल्लीमा काम गर्दै आएका उनी चार दिनदेखि भूमिराज मावि चडेपानीको क्वारेन्टिनमा बसिरहेका छन ।

उनका बुबा चिन्तामणि भट्टको ६ दिनअघि निधन भएपछि उनले क्वारेन्टिनमै किरिया शुरु गरेका हुन । केही दिनअघि कञ्चनपुरको गड्डाचौकीबाट उद्धार गरेपछि उनी दोगडाकेदार आइपुगेका हुन ।

क्वारेन्टिनमा किरिया बस्न बाध्य भएको उनले गुनासो गरे । घरमै बस्ने व्यवस्था मिलाउन गाउँपालिकालाई अनुरोध गरे पनि घर पठाउन नमानेको स्थानीयवासी केशव भट्टले जानकारी दिए ।

भारतबाट आएका सबै नागरिकलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्नुपर्ने निर्देशनअनुसार नै उनलाई क्वारेन्टिनमा राखेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए । लीलाधरको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको र १४ दिनअघि नै रिपोर्ट नेगेटिभ आए घर पठाइने उनले जानकारी दिए ।

यसअघि गत जेठ दोस्रो साता बैतडीको मेलौली नगरपालिका–७ पच्कोराका रामसिंह रावत पनि आफ्ना बुबाको किरिया क्वारेन्टिनमा बसेका थिए ।