आज थपिए चार सय २६ संक्रमित, काठमाडौंमा गरिएको परिक्षणमा सुदूरपश्चिममा १५१ संक्रमित, डडेल्धुरा सदरमुकाम सिल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या आठ हजार दुई सय ७४ जना पुगेको छ ।

हालसम्म १४ सय दुई जना संक्रमण निको भएर घर फर्किएका छन । शुक्रबार मात्रै दुई सय १६ जना डिस्चार्ज भएका हुन् ।

सुदूरपश्चिममा ७ सय ७५ संक्रमित
काठमाण्डौंमा गरिएको परिक्षणका सुदूरपश्चिमका थप १ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टेकुमा गरिएको परीक्षणमा बैतडीका ७ महिला र ५६ पुरुष गरी ६३ जना, कैलालीका १३ महिला र ३३ पुरुष गरी ४६ जना, डोटीका ३ महिला र १२ पुरुष गरी १५ जना, डडेल्धुराका ९ पुरुष, बाजुराका ८ पुरुष, अछामका १ महिला र ६ पुरुष गरी ७ जना, बझाङका १ महिला र २ पुरुष गरी ३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयको नियमित पत्रकार सम्मेलन बताइएको छ ।

आजै धनगढी स्थित कोरोना परिक्षण प्रयोगशालामा गरिएका परिक्षणमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट डा हेमराज पाण्डेद्वारा जारी गरिएको सूचना अनुसार थपिएका संक्रमित मद्ये कैलालीका ७, कन्चनपुरका १ , डोटीका ४ जनामा रहेका छन ।

यो संगै आज मात्रै सुदूरपश्चिममा आज १ सय ६८ जना कोरोना सक्रमित थपिएका छन । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या सात सय ७५ पुगेको छ ।

डडेल्धुरा सदरमुकाम सिल

कोरोना संक्रमणको दर बढ्दै गएपछि डडेल्धुरा जिल्ला सदरमुकाम सिल भएको छ । आज दिउँसो ३ बजेदेखि लागू हुने गरि सदरमुकाम क्षेत्र सिल गरिएको हो ।

अर्को सूचना जारी नहुन्जेलसम्मका लागि डडेल्धुरा सदरमुकाम क्षेत्र सिल रहने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । कैलालीको अत्तरियामा कोरोनाका कारण एक जनाको मृत्यु भएको र संक्रमित बढ्दै गएपछि गोदावरी नगरपालिका र उद्योग वाणिज्य संघको पहलमा नगरपालिका बन्द गरिएको छ । अर्को सूचना जारी नहुन्जेल सम्मका लागि नगर बन्द गर्ने निर्णय गरिएको हो ।