अमेरिका !

कविता

० नवराज लम्साल

तिमीले अमेरिकाको
सभ्यताको वर्णन गर्यौं
त्यहाँको विकासको
असीमित प्राप्तिको वर्णन गर्यौं
मानवअधिकार र स्वतन्त्रता देखि
आलोचनाको अधिकार सम्मको वर्णन गर्यौं ।

तर, तिमीले
सभ्यता भित्रको नग्नता
देख्न सकेनौं
पूँजीवादको अतिक्रमण
र,
त्यसले विश्वलाई पारेको प्रभाव
देख्न सकेनौं
सम्पन्नताको चाहनामा
आणविक भट्टी र बेश्यालयले
विश्वमा पारेको प्रदूषण
देख्न सकेनौं  ।

तिमीले स्वार्थको जिजीभिषा
अस्तित्वको धरौटीमा
सार्थकता खोज्नुको कारण
अमेरिकालाई विश्वको स्वर्ग देख्यौं
गरिबी र भोकको दासताको कारण
अस्वाभाविक सम्भ्रान्त
विस्तारवादी नग्नताबीच
प्रतिष्ठाको सुनौंलो रूप देख्यौं ।

तिमीले अमेरिकाको
चमत्कारिक विकासको वर्णन गर्यौं
त्यहाँको जनताको सुखको वर्णन गर्यौं
अधिकार, कर्तव्य, संस्कारदेखि
नारी स्वतन्त्रतासम्मको वर्णन गर्यौं ।

तर, तिमीले
विकास भित्रको अश्लील छवि चित्र
देख्न सकेनौं
श्रमसोषण दमन नीति
र,
त्यसले विश्व बजारलाई
पारेको प्रभाव देख्न सकेनौं

तिमीले
शक्ति सार्वजनिकीकरणको होडबाजीमा
बम र बारूदको क्रूर राक्षसी रूप
र,
त्यसले विश्वमा देखाएको एकाधिकार
देख्न सकेनौं ।

भोलीको भयावह युद्ध
अणु र परमाणुको कार्यगत एकता
मानव विनासको दुन्दुभि भन्ने बुझ्न सकेनौं
तिमीले सभ्यताको फोसिल
अस्मिताको लिलामीमा
साट्नुको कारण
अमेरिकालाई विश्वकै सम्पन्न देख्यौं
स्वाभिमान धरौटी राखेर
टाइ, सूट र आलिसान महल
विलाशी सुख, सुविधा
साटासाट गरेको कारण
आधुनिक दर्शन र मृगतृष्णा बीच
दासताको भीखमङ्गा रूपलाई
विश्वको बादसाह देख्यौं !

(कवि लम्साल युवा राजनीतिज्ञ, भाषाशास्त्री, समाजशास्त्री तथा मानवशास्त्री हुन)