काठमाडौंमा गुञ्जीय जाकिर हुसेन

काठमाडौं । विख्यात तबलावादक संगीतज्ञ पद्म भूषण उस्ताद जाकिर हुसेनको सांगीतिक कन्सर्ट मंगलबार सम्पन्न भएको छ । भारतीय दूतावास काठमाडौँले दूतावास परिसरमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम सूर्य नेपाल, नेपाल एसबीआई, जेट एयरवेज तथा रेडिसन होटेलसँगको सहकार्यमा भएको हो ।

राजनीतिज्ञ, कलाकार, संगीतकार, साहित्यकार, संचारकर्मी तथा विद्यार्थीलगायत विभिन्न पेशका झण्डै हजारभन्दा बढी व्यक्तिहरुले कार्यक्रको आनन्द लिएका थिए । कार्यक्रममा तबला उस्ताद जाकिर हुसेनका साथमा आनन्द कृष्णन् (मृदंगम्), साबिर खान (सारंगी), नविन शर्मा (ढोलक) तथा मुजीब ददरकर (साउण्ड इन्जिनियर) थिए ।

उस्ताद जाकिर हुसेन सांगीतिक क्षेत्रका विश्व प्रसिद्ध व्यक्तित्व हुन् । उनको सांगीतिक समूहले यस प्रस्तुतिलाई अविस्मरणीय बनाएको छ ।

उनले आफ्नो दैवीय आधुनिक तथा शास्त्रीय तबला बादन मार्फत दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए ।

भारत–नेपाल कूटनीतिक सम्बन्धको ७० वर्ष मनाउन तथा दुवै देशको साझा सांगीतिक विरासतलाई बरकरार राख्न उस्ताद जाकिर हुसेनसँगको सांगीतिक कार्यक्रम १७ वर्षको लामो अन्तराल पछि आयोजना भएको हो ।