रहिनन शिक्षाविद् अङ्गुरबाबा जोशी

काठमाडौं । समाजसेवी तथा शिक्षाविद् अङ्गुरबाबा जोशीको निधन भएको छ । शनिबार ८९ वर्षको उमेरमा उनको निधन भएको हो । काठमाडौँको महाराजगञ्जस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा जोशीको निधन भएको थियो ।

काठमाडौँको डिल्लीबजारमा विसं १९८८ असारको हरिशयनी एकादशीका दिन जन्भिएकी जोशीले काठमाडौँस्थित पद्मकन्या क्याम्पस स्थापना गर्न विशेष योगदान गरेकी थिइन ।

आणविक वैज्ञानिक डा बलराम जोशीसँग विवाह गरेकी उनका दुई छोरी र एक छोरा छन । जोशीले बनारसबाट राजनीति र संस्कृत शिक्षा तथा बेलायतबाट उच्च शिक्षा हासिल गरेकी थिइन ।

साहित्यमा समेत रुचि राख्ने जोशीको २०३२ सालमा ‘कथासङ्ग्रह’ निस्किएको छ । उनको उत्कृष्ट प्रकाशन प्रालिले विसं २०७४ वैशाखमा ‘अक्षर साधना र गोँधुली साँझ’ आत्मकथासमेत प्रकाशन गरेको थियो ।

जोशीको लगाव सामाजिक सेवा र शिक्षा क्षेत्रमा बढी थियो । आध्यात्मिक चिन्तक जोशीले युवराज्ञी हुँदा पूर्व रानी ऐश्वर्यलाई पढाएकी थिइन । तारागाउँ विकास समिति खडा गर्नमा पनि उनको योगदान छ । उनी नेपालको पहिलो महिला क्याम्पस प्रमुख पनि हुन ।