लकडाउनका बीच पनि रेडक्रस सोसाइटीमा तदर्थ समितिको माग

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिले यही असार २५ देखि २७ गतेसम्म केन्द्रीयसभाको ४८औँ अधिवेशन काठमाडौँ उपत्यकाभित्र गर्ने तयारी गरिरहेका बेला परिवर्तन नेपाल रेडक्रस समूहले अविलम्ब नेपाल रेडक्रस सोसाइटीमा पदाधिकारी पुनर्गठनको माग गरेको छ ।

पदाधिकारीको पदावधि २०७५ चैत मसान्तमा सकिएको भन्दै असन्तुट समूहले देशमा कोरोना महामारी फैलिएको भए पनि नयाँ नेतृत्व गठन हुन नसकेको भन्दै सरकारी प्रतिनिधिको नेतृत्वमा तदर्थ समिति गठन गर्न माग गरेको छ । वर्तमान कार्यसमितिको वर्चश्व देशभर भएकाले उक्त समूहले निष्पक्ष निर्वाचन गर्न आग्रह पनि गरेको छ ।

सञ्जीवकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिको पदावधि सम्पन्न भए पनि विधानतः सोही समितिले दुईपटकमा १५ महिना समय थप गरेर संस्थाको निर्वाचन गराउने प्रयास गरे पनि प्रशासनले धरानमा तय भएको अधिवेशन अन्तिम घडीमा रोकेको थियो भने त्यपछि धुलिखेलमा डाकिएको साधारण सभामा पनि रोक लगाएको थियो ।

जगदीश भट्टराई संयोजक रहेको समूहले पदावधि सम्पन्न भएका पदाधिकारीको निर्देशनमा आर्थिक तथा वित्तीय कारोवार सञ्चालन गर्दा अनियमितता हुनसक्ने आशंका गर्दै संस्थाको नाममा विभिन्न बैंकमा रहेका खाता सञ्चालनमा केन्द्रीय बैंकले प्रतिबन्ध लगाउनुपर्ने माग पनि गरेको छ । सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकाललाई थापा नेतृत्वको पदाधिकारी तथा कार्यसमितिको नामबाट कुनै पनि आर्थिक प्रशासनिक कामकाज, गतिविधि नगर्न नगराउन ध्यानाकर्षणसमेत गराएको छ । यद्यपित यसअघि रेडक्रसमा अनियमितता, भ्रष्टाचार भएको भनि लगाइएका आरोपहरु भने छानविनका क्रममा कतैबाट पनि हालसम्म पुष्टि भएका छैनन ।

समूहका संयोजक भट्टराईले वर्तमान नेतृत्वको अकर्मण्यताका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा सञ्जाल रहेको रेडक्रसले अहिले कानूनी वैधता गुमाएकाको दावी गर्दै चाँडो तदर्थ समिति गठन गरी अधिवेशन गर्नुपर्ने विचार व्यक्त गरेका छन । सरकारले भने कोरोना महामारीका कारण हाललाई भेला, सभा, सम्मेलन र अन्य भीडभाड हुने काम गर्न रोक लगाएको छ । संयोजक भट्टराईको माग पूर्वाग्रही र आफू अनुकूल सोचले प्रेरित भएको रेडक्रसका एक पदाधिकारीले बताए ।

वर्तमान कार्यसकितिले आगामी महाधिवेशन र केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्न कुनै कानूनी बाधा आएमा बाधा अड्काउ फुकाउन कानूनी उपचारमा जाने निर्णय गरिसकेको छ । निर्धारित समयमा विभिन्न कारणले अधिवेशन सम्पन्न नगरेको वर्तमान केन्द्रीय कार्यसमितिले यही असार २५ देखि २७ गतेसम्म केन्द्रीयसभाको ४८औँ अधिवेशन काठमाडौँ उपत्यकाभित्र गर्ने तयारी गरेको छ ।

लकडाउनका कारण सभा सम्मेलन असारमा पनि खुला नभएमा र केन्द्रीय कार्यसमितिको वैधता कायम राख्न बाधा परेमा मौजुदा विधानको संशोधन गरी बाधा अड्काउ फुकाउने निर्णयसमेत गरेको छ । विसं २०७६ वैशाख २३ देखि २५ गतेसम्म सुनसरीमा आह्वान गरिएको ४८औँ महाधिवेशनको सम्पूर्ण तयारी भएको अवस्थामा विभिन्न कारणले महाधिवेशन र निर्वाचन हुनसकेको छैन ।