विपन्नको सहयोगमा सक्रिय टीका, ६० परिवारका लागि गरिन राहतको जोहो

लमजुङ । लमजुङको बेसिसहर नगरपालिका- १ की वडा सदस्य हुन् टीका कुमारी बस्याल। उनी यतिवेला आफ्नो वडाका अति विपन्न परिवारलाई सहयोग गर्न लागिपरेकी छन्।

एक नम्बर वडाको उदिपुरमा अति बिपन्न ६० घर परिवारलाई बस्यालको सक्रियतामा आइतबार राहत स्वरुप खाद्यान्न बितरण गरिएको छ। उनको पहल र नेपाली वेलफेयर सोसाइटी युकेको सहयोगमा खाद्यान्न सामग्री वितरण गरिएको हो।

वडा अध्यक्ष बलराम श्रेष्ठका अनुसार अति बिपन्न, दैनिक ज्याला मजदुरी गर्ने, एकल महिला, अपाङ्ग जस्ता आर्थिक अवस्था न्युन भएका परिवारलाई लक्षित गरेर राहत बितरण गरिएको छ।

बस्यालले प्रती घर ३० केजि चामल, ५ केजि दाल, २ केही नुन, २ पोका तेल र साबुन बितरण गरिएको बताइन्। राहत पाएसँगै विपन्न नागरिक खुशी छाएको उनले बताइन्।

बस्यालका अनुसार युकेबाट नेपाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष धन बहादुर सार्किको नेतृत्वमा सोही संस्थाबाट सहयोग प्राप्त भएको हो। देशमा लक डाउनका कारण घर चलाउन मुस्किल परेका ब्यक्तिलाई केही हदसम्म भए पनि राहत मिलोस भन्ने उदेश्यले खाद्यान्न सहयोग गरेको उनले बताइन्।

राहत वितरण कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) जिल्ला कार्य समिती लमजुङका सदस्य कृष्ण प्रसाद अधिकारी, सुनिल सुनार (अटल ) लगायतले अब राहत मात्र नभएर विपन्नका लागि रोजगारीको प्रत्याभूति हुनुपर्ने बताएका थिए।