देशका ७७ मध्य ७६ जिल्लामा कोरोना संक्रमण, आज एकै दिन ३७० निको भए, ५३५ नयाँ संक्रमित

काठमाडौं । आज एकै दिन देशभर ५३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । देशभर ३७० जना निको भएर घर फर्किएका छन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४६१ पुरुष र ७४ महिलामा सङ्क्रमण देखिएको बताए ।

नयाँ सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या नौ हजार पाँच सय ६१ पुगेको छ । तीमध्ये आठ हजार ६ सय ६७ पुरुष र आठ सय ९४ महिला छन् । उनले रसुवाबाहेक ७६ जिल्लामा सङ्क्रमण देखिएको बताए । आजसम्म एक लाख ८१ हजार तीन सय ७१ जनामा पिसिआर परीक्षण गरिएको छ । यस्तै ९० हजार तीन सय ७० जना क्वारेन्टिन र सात हजार सात सय ८९ जना आइसोलेशनमा छन् ।

३७० सङ्क्रमित डिस्चार्ज
कोभिड– १९ बाट निको भएर घर फर्कने सङ्ख्या आज अहिलेसम्मकै उच्च रहेको छ । मन्त्रालयका प्रवक्ता डा गौतमले विभिन्न अस्पतालबाट आज एकैदिन ३७० जना घर फर्किएका बताए । तीमध्ये तीन सय ३८ पुरुष र ३२ महिला निको भएर घर फर्किएका छन् ।

आइतबार मात्र एक सय ९४ जना डिस्चार्ज भएका थिए । आज डिस्चार्ज भएर घर फर्कनेमा दैलेखस्थित दैलेख अस्पतालबाट धेरै रहेका छन् । उनका अनुसार उक्त अस्पतालबाट निको भएर घर फर्कनेमा दुई सय ६५ छन । तीमध्ये १९ महिला र दुई सय ४६ पुरुष छन् ।