गुणस्तरको नाममा अलैँची किसानले मुल्य पाएनन्

तेह्रथुम । मेन्छ्यायेम गाउँपालिका–३, श्रीजुङका यामबहादुर लिम्बू करीब दुई बोरा अलैँची बेच्न पिठ्युँमा बोकेर व्यापारी इन्द्र भण्डारीको पसल पुगे तर अलैँची राम्रो नसुकेको भन्दै पुनः राम्ररी सुकाएर ल्याउन भनेपछि उनी चकित परे ।

विगतमा यसैगरी सुकाएर लाखौँको ‘कालो सुन’ कारोवार गरेका लिम्बूलाई व्यापारीले अलैँचीको गुणस्तर भएन भन्दा रिस पनि उठेको थियो । “पहिले यस्तै अलैँची व्यापारीले खुशी भएर किन्थे”, अलैँची बोकेर फर्कँदै गरेका लिम्बूले भने, “अहिले अझै राम्रो सुकाएर ल्याउन भनेका छन् ।”

श्रीजुङकै किसान देउबहादुर लिम्बूले फलाएको १५ मन अलैँची पनि न्यून गुणस्तरको ठहरियो । उनको केही अलैँची मात्रै मध्यमस्तरको ठहर गरी बाँकी सबै न्यून गुणस्तरकै मूल्यमा बिक्री भयो । विगतमा जिल्लाका किसानले उत्पादन गरेको अलैँचीको गुणस्तरको कुनै वास्ता हुन्थेन ।

विगतमा व्यापारीलाई चार पैसा नाफा हुने गरी खरीद गर्नु थियो र किसानले पनि जस्तो भए पनि बिक्री गर्नुमात्रै थियो। किसानले उत्पादन गरेको अलैँचीको गुणस्तरको विषयमा चासो नराखी व्यापारीले नाफामुखी व्यापार गर्थे । किसान पनि आफूलाई फाइदा हुने मात्रै सोच्थे । अहिले अलैँचीको मूल्य एक्कासि घटेपछि नेपाली अलैँचीमाथि गुणस्तरको प्रश्न चिह्न उठ्न थालेको व्यवसायी बताउँछन् ।

त्यसैले पनि यस वर्ष गुणस्तरीय, मध्यम र चलनचल्तीको अलैँचीको छुट्टाछुट्टै मूल्य निर्धारण भएको छ । व्यापारीले गुणस्तरीय अलैँची खोज्न थालेपछि किसान भने दुःख पाएको बताउँछन् । गाउँमा सानोतिनो व्यापार गर्ने भण्डारी आफैँ पनि अलैँची कृषक हुन ।

“विगतमा जस्तो अलैँची पनि एउटै भाउमा बिक्थ्यो, तर अहिले त्यस्तो छैन”, उनले भने । गाउँमा किसानले अलैँचीको तौल बढाउन बेच्ने बेला पानी हालेर पनि लैजाने गरेका थिए तर यो वर्ष अलैँचीको गुणस्तरलाई ध्यानमा राखेर खरीद बिक्री हुन थालेपछि आफूले पनि सोहीअनुसार खरीद बिक्री गरिरहेको उनले बताए ।

भण्डारीको आफ्नै बगैँचामा यो वर्ष सात मन अलैँची फल्यो । त्यसबाहेक करीब ४० मन अलैँची खरीद बिक्री गरेको उनले बताए । त्यतिका अलैँची कारोवार गर्दा उनले सबै न्यून गुणस्तर अर्थात् चलनचल्तीको दाममा मात्रै कारोवार गरे । नसुकेको काँचो, ढुसी आएको, पुच्छर नकाटेको, कुहिएको अलैँची मिसिएको, भट्टी लगाउँदा डढेको जस्ता अलैँची बजारमा यसपाली किनबेच नभएको व्यापारी भण्डारीले बताउँछन् ।

यो वर्ष जिल्लाका बजारमा पनि अलैँचीको कारोवार गुणस्तर हेरेर मात्रै गरिएको अलैँची व्यवसायी सङ्घले जनाएको छ । अलैँची व्यवसायी महासङ्घले निर्धारण गरेको उच्च गुणस्तरीय, मध्यम र चलनचल्तीको अलैँचीको छुट्टाछुट्टै मूल्यमा आधारित रहेर कारोवार भइरहेको अलैँची व्यवसायी सङ्घ तेह्रथुमका महासचिव तुलसी ढकालले बताए ।

“पहिलेकै गुणस्तरको अलैँची यसपाली बजारमा कारोवार भएन, बरु फिर्ता पठाइयो”, उनले भने । ढकालले यो वर्ष ७०० मन भन्दा बढी अलैँची कारोवार गरे । त्यसमध्ये २०० मन मात्रै गुणस्तरीय अलैँची थियो ।

जिल्लाका किसानलाई दुई वर्ष अघि उद्योग वाणिज्य सङ्घले १०० वटा अनुदानमा आधुनिक भट्टी वितरण गरेको थियो तर अहिले एउटा पनि प्रयोगमा छैन । “जिल्लाका १०० किसानले आधुनिक भट्टी पाएका थिए”, महासचिव ढकालले भने, “अहिले कसैले पनि प्रयोग गरेको छैन ।”

आधुनिक भट्टीको प्रयोग प्राविधिक रुपमा असजिलो, महँगो र धेरै समय लाग्ने किसान बताउँछन् । आधुनिक भट्टी गरेको अलैँची र परम्परागत भट्टीमा सुकाएको अलैँचीको मूल्यमा खासै फरक नहुने भएकाले पनि कम खर्चमै सुकाउन परम्परागत भट्टीको प्रयोग गरेको फुलेकका किसान योगेन्द्र कार्कीले बताए ।