लाचार संघ र प्रदेश सरकार, आफै स्वाब बोकेर प्रयोगशाला धाउँदै नगरप्रमुख

-अक्षर संवाद-

नेपालमा माघ १० गते पहिलो कोरोना संक्रमित पुष्टि भएदेखि चैत ११ गते लकडाउन सुरु हुने अवधिसम्म तयारीका लागि दुई महिना समय थियो । लकडाउनपछि पनि संक्रमितको संख्या करिब दुई महिना दुई अंकमै सिमित थियो । कोरोनाको महामारी नफैलिएको यही समयमा भारतलगायतका देशबाट स्वदेश फर्कन चाहनेहरुलाई व्यवस्थित रुपमा भित्र्याउने तमाम अवसर थियो । तर त्यो अवसर गुमाएर सरकारले महामारीको संक्रमण फैलिसकेपछि भारतलगायतका देशबाट हाजारौँको संख्यामा नेपाली स्वदेश फर्कन वाध्य पार्यो । जसको मार यतिबेला गाउँ गाउँमा परिरहेको छ ।

तर, संघीय र प्रदेश सरकारको उदाशिनता मात्र होइन अकर्मन्यता र अदूरदर्शिताको मार गाउँ गाउँमा कतिसम्म परिरहेको छ त ? यसको बिम्बका रुपमा बाजुराको बुढिगंगा नागरपालिकामा स्वाब परीक्षणको घटनालाई लिन सकिन्छ । भारतबाट आएर विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्वारेन्टिनमा १४ दिन बसेकाहरुको स्वाब समयमै परीक्षण हुन सकेको छैन ।

स्वाब संकलनमा मात्र होइन आरडिटी पोजेटिभ आएकाहरुको पनि परीक्षण हुन र रिपोट आउन थप १० औँ दिन लाग्ने गरेको छ । यो अवस्थाले आजित भएपछि बुढिगंगा नगरपालिकाका मेयर दिपकबिक्रम शाह भने स्वाब बोकेर आफै परीक्षणका लागि कुद्न थालेका छन । परीक्षणका लागि स्वाब संकलन र परीक्षणमा ढिलाई हुन थालेपछि क्वारेन्टिनमा बस्नेलाई मानसिक र भौतिक समस्या थपिएको छ भने नगरलाई व्यवस्थापनको थप जिम्मेवारी र आर्थिक भार व्यहोर्नुपरको नगर प्रमुख शाहको भनाइ छ ।

आफ्नो नगर र गाउँमा कोरोना संक्रमणको अवस्था भयावह बनेपछि नगरप्रमुख आरडिटी पोजेटिभको स्वाब आफै बोकेर रातारात जुम्ला पुगेका हुन । यही सेरोफेरोमा अक्षरपाटीले शाहसँग गरेको संवाद :-

आरडिटी पोजेटिभको स्वाब आफै बोकेर हिड्नु पर्ने अवस्था किन आयो ?

संकलन गरेर पठाइएको स्वाबको रिपोट हप्ता १० दिनमा पनि आउन सकेन । त्यसैले आफै स्वाब बोक्न वाध्य भएको हुँ ।

बाजुराको परीक्षण धनगढीमा हुँदै आएको भन्ने छ, तपाईँ जुम्ला किन जानुभयो ?

हाम्रो सुदूरपश्चिम प्रदेश भरिमै एक मात्र परीक्षण केन्द्र छ । धनगढीको त्यो प्रयोगशालामा हामीले यसअघि २०० जना आरडिटी पोजेटिभको स्वाब संकलन गरेर पठाएका छौँ । एक हप्ता हुँदा पनि उहाँहरुको रिपोर्ट आएको छैन । धनगढीबाट पनि त्यो स्वाब काठमाडौं पठाइएको भन्ने खबर पाएको छु । यसरी त १४ दिन क्वारेन्टिनमा बसेकाहरुले थप १०, १५ दिन पर्खेर बस्नुपर्ने भयो । त्यसैले जुम्लाको कर्णाली स्वास्थ्य प्रतिष्ठानसँग अनुरोध गरेर उता लगेर गएको हुँ ।

कति जनाको स्वाब कहिले जुम्ला पुर्याउनुभयो ?

आइतबार राती ३३८ जना आरडिटी पोजेटिभ देखिएकाहरुको स्वाब आफैले प्रयोग गर्ने गाडीमा लगेर सोमबार जुम्लाको स्वास्थ्य प्रतिष्ठानमा पुर्याएर मंगलबार राती नै बुढीगंगा आइपुगेको हुँ । जतिसक्दो चाँडो भयो, जनतालाई त्यती नै राहत होस भनेर यसो गर्न वाध्य भएको हुँ ।

तपाईँ अप्राविधिक मान्छे, यसो गर्दा जोखिम हुन्छ कि हुँदैन ?

स्वाबलाई स्वास्थ्यकर्मीहरुले विशेष किसिमिले प्याक गरेर र्यापिङ गर्नुभएको थियो । मसँग हाम्रो स्वास्थ्य संयोजक दिपक शाह पनि हुनुहुन्थ्यो । हामीले गाडीलाई स्यानिटाइज गरेर, स्वाब पुर्याएपछि पनि स्यानिटाइज गर्यौँ । स्वाब बोक्दाको जोखिम भन्दा पनि यहाँ क्वारेन्टिनमा बस्नेहरुको मानसिक तनाव, उहाँहरुको दवाव, कसैमा पिसिआर नै पोजेटिभ रहेछ भने पनि त्यसले थप संक्रमण फैलाउने जोखिम पो झन जटिल छ त । त्यसैले जति सकिन्छ, आफूले सकेको गर्ने कोसिस गरेका हौँ ।

अहिले बुढीगंगा नगरपालिकामा कति जना क्वारेन्टिनमा छन ?

हामीकहाँ करिब हजार जना क्वारेन्टिनबाट घर फर्किसक्नुभयो । पछिल्लोपटक भारतबाट स्वदेश आउने संख्या ह्वात्तै बढेपछि अहिले यहाँ १६ सय जना जति क्वारेन्टिनमा हुनुहुन्छ । उहाँहरुमध्य ५ सय जनामा आरडिटी पोजेटिभ देखिएको छ । भारतबाट आउने क्रम जारी नै छ । उता पनि संक्रमण फैलिसकेपछि र अव्यवस्थित रुपमा आउनु परेका कारण पनि संक्रमणको उच्च जोखिममा हामी छौँ । फेरि यो सुदूरको विकट जिल्ला भएकाले यहाँ उपचारका लागि स्वास्थ्य संस्थाको प्रयाप्त र सुविधायुक्त अवस्था पनि छैन । त्यसैले जति सकिन्छ जोगिने र जोगाउने प्रयास गर्न खोजिएको हो ।

परीक्षण  ढिलासुस्तिले त झन संक्रमण फैलिएला नि ?

चिन्ता नै त्यही हो । देश लकडाउन भएकै तीन महिना भयो । संक्रमणको पहिलो व्यक्ति देखिएदेखि हेर्ने हो भने छ पाँच महिना पुग्यो । अहिलेसम्म पनि संघ र प्रदेश सरकारले सिंगो प्रदेशमा परीक्षण प्रयोगशाला एकबाट दुई बनाउने इच्छाशक्ति देखाएन, त्यसको मार हामी खेपिरहेका छौँ ।

यसरी त समुदायस्तरमै संक्रमणको जोखिम भयो नि । नगरले के पहल गर्यो ?

नगरले गर्ने भनेकै उहाँहरुलाई क्वारेन्टिनमा राख्ने हो । परीक्षण गराएर घर पठाउने हो । हामीले डब्लूएचओको मापदण्डअनुसार १४ दिन होइन परीक्षणको ढिलासुस्तिका कारण २८ दिन, महिना दिन जनतालाई क्वारेन्टाइनमा राख्नुपरेको छ । उहाँहरुलाई अरु मापदण्ड पुरा गर्ने कोसिस गरे पनि खान, बस्नकै लागि डेढ करोड खर्च गरिसकेका छौँ । त्यस्तै एक करोड बराबरको राहत नै वितरण गर्यौँ । ल्याब, जनशक्तिको व्यवस्थाका बारेमा प्रदेश र संघीय सरकारले सोचिदिनुपर्ने हो । यति लामो समय त्यति पनि नगरिदिँदा संक्रमण फैलने जोखिम झन बढेर गएको छ ।

भनेपछि तपाईँको क्षेत्र उच्च जोखिममा छ ?

हो, मेरो मात्र होइन सुदूरपश्चिम, कर्णालीका प्राय गाउँ गाउँ जोखिममा छन । तपाईँले पनि सुन्नु भएको होला, क्वारेन्टिनमा १४ दिन बसेर घर गएको हप्ता, दुई हप्तापछि पिसिआर रिपोर्ट पोजेटिभ आएका घटना । १४ दिने मापदण्ड पुरा गरेकाहरु जसलाई संक्रमणको कुनै संकेत छैन, उहाँहरुलाई तुरुन्तै परीक्षणको व्यवस्था नभएपछि घर नजाउ भन्न भएन, त्यसरी पनि कतिपय गाउँमा संक्रमण पुगेको छ ।

अब कसरी यो जोखिम कम गर्न सकिन्छ ?

यो एक्लै वा कसै व्यक्तिले चाहेर हुने कुरा होइन । विश्व महामारीलाई हरेक जनतादेखि केन्द्र सरकारले महामारीका रुपमा बुझ्नुपर्छ । प्रत्यक जनताले आफै जोगिने प्रयास गर्ने हो भने, संक्रमितको पहिचान, व्यवस्थापन, परीक्षण, उपचारमा राज्य सक्रिय हुनुपर्छ । परीक्षण नै नहुने, पठाइएका स्वाबको रिपोट आउनै हप्ता दुई हप्ता लाग्ने हो भने त जोखिम झन बढ्दै जाने पक्का छ ।