महिलाको पेटबाट निकालियो ६ किलोको ‘डल्लो’

धनगढी । धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा एक महिलाको पेटबाट ६ किलोको मासुको डल्लो निकालिएको छ । कैलालीको भजनी नगरपालीका ६ की २९ बर्षीया रत्ना चौधरीको पेटबाट उक्त मासुको डल्लो निकालिएको हो ।

सुरुमा पेट बढदै गएपछि अनेक औषधि र झारफुकमा लागे पनि चौधरीको पेट झन ठूलो हुँदै गएको थियो । चौधरीका श्रीमान श्यामलालले भने, ‘पहिला त सामान्य औषधि र झाडफुकमा लाग्यौँ । तर पनि पेट झनै ठूलो हुँदै गयो ।’

कोहलपुर गएर एमआरआई गरेपछि भने पेटमा मासुको डल्लो भएको थाहा भएको उनले बताए । ुमासुको डल्लोले पाठ्येघरलाई च्यापिसकेको रहेछ । डाक्टरले मासुको डल्लो निकाल्दा बच्चादानी पनि निकाल्नुपर्ने हुनसक्छ भने,ु चौधरीले सुनाए ।

उनीहरुको विवाह भएको १५ महिना मात्रै भएको श्यामलालले बताए । ‘सन्तान भएका छैनन । पाठेघर पनि निकाल्नुपर्ने कुरा सुन्दा छाँगाबाट खसेझैँ भयो । केही सोच्नै सकिन,’ उनले भने, ‘अप्रेसन पनि नगरि नहुने भएपछि भगवानलाई मात्रै सम्झेँ अरु केही दिमागमा राखिन ।’

तर धनगढीको निसर्ग हस्पिटलमा रत्नाको सफल अप्रेसन भएको छ । पाठेघर पनि नफालेरै अप्रेसन सफल भएको कुरा डाक्टरले सुनाएपछि खुशीको सीमा नरहेको श्यामलालले सुनाउँदै डाक्टरलाई धन्यवाद दिए । निसर्ग अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर नजमुस्सबा अन्सारी, एनेस्थेसियोलोजिस्ट डा. हेमन्त ओझा,बरिस्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा.मिराज आलम अन्सारी लगाएतको टिमले रानाको सफल सल्यक्रिया गरेको हो । उक्त ट्युमरले पाठेघर पुरै च्यापेको भए पनि पाठेघरलाई कुनै क्षति नपुर्याई सल्यक्रिया सफल भएको चिकित्सकहरुले बताएका छन ।

उपचार गर्न अन्यत्र पनि जानु नपरेको र पाठेघर पनि जोगाएर अप्रेसन सफल पारिदिएकोमा श्यामलालका दम्पत्ती निकै खुशी भएका छन । अन्यत्र गएर उपचार गर्दा लाग्ने पैसा मात्रै होइन आमा बाबु बन्ने सफना पनि जोगाएर अप्रेसन सफल पारिदिएकोप्रति उनीहरु अस्पतालप्रति निकै आभारी बनेका छन । सल्यक्रियापछि बिरामीको अबस्था सामान्य रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष तीर्थ पन्तले अक्षरपाटीलाई बताए ।