बैतडीमा बैकल्पिक विधिबाट पढाउने तयारी

बैतडी । बैतडीमा वैकल्पिक प्रणालीबाट पढाउने तयारी गरिएको छ । सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले विद्यार्थीको वैकल्पिक पठनपाठनको तयारी गरेको हो ।

कोरोना भाइरसका कारण विद्यालयहरु चलाउन नसकिएपछि वैकल्पिक माध्यमबाट पठनपाठनको तयारी भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले जानकारी दिए । नगर क्षेत्रभित्रका सबै विद्यालयका प्रधानाध्यापकहरुलाई बोलाएर वैकल्पिक सिकाइ प्रणालीका विषयमा मंगलबार छलफल गरिएको हो ।

लामो समयदेखि घरमै बस्न बाध्य भएका विद्यार्थीको सिकाइ प्रक्रियामा समस्या नआओस् भन्ने उद्देश्यले वैकल्पिक पठनपाठनका विषयमा छलफल भएको शिक्षा शाखा प्रमुख नाथले बताए ।

स्थानीय एफ एम रेडियोहरुबाट कक्षा सञ्चालन गर्ने विषयमा पनि छलफल भएको छ । रोस्टर शिक्षकहरु तयार गरेर स्थानीय एफ एमबाट कक्षा सञ्चालनको तयारी गरिने नगरपालिकाले जनाएको छ । गएको चैतदेखि विद्यालयहरु बन्द हुँदा बालबालिकाहरुको सिकाइ प्रक्रियामा समस्या आउने भएकाले वैकल्पिक प्रणालीबाट पठनपाठनका विषयमा छलफल भएको मणिलेक मावि गुरुखोलाका प्रधानाध्यापक केशव भट्टले बताए ।