कोरोना व्यवस्थापन गर्न विश्व बैंकको १० करोड डलर सहयोग

काठमाडौं । नेपाललाई विश्व बैंकले १० करोड डलर आर्थिक सहयोग गर्ने भएको छ ।नेपालको ऊर्जा विकाससँगै कोरोना संक्रमणको व्यवस्थापनका लागि १० करोड डलर बराबरको सहायता दिने भएको हो ।

अर्थ मन्त्रालयमा आज विश्व बैंकसँग विकास नीति ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अर्थ सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका नेपालस्थित देशीय निर्देशक फारिस हदाद जार्भोसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन ।

यो ऊर्जा क्षेत्रसँग सम्बन्धित दोस्रो सम्झौता हो । ऊर्जा क्षेत्रको वित्तीय अवस्थामा सुधार ल्याउन र कोभिड–१९ संकटसँग जुध्न सघाउने उद्देश्यले सहयोग गरिएको विश्व बैंकले जनाएको छ ।

सहयोग रकम नेपालको ऊर्जा क्षेत्रको सम्भाव्यतालाई पहिल्याउन नीतिगत र संस्थागत सुधारमा खर्च गरिने सम्झौतापत्रमा उल्लेख छ । यो सहयोगअन्तर्गत नेपाल विद्युत् प्राधिकरणलाई वित्तीयरुपमा सबल बनाउने, स्वायत्त, पारदर्शी र जवाफदेही नियमनकारी निकाय खडा गर्ने, ऊर्जाको क्षेत्रीय बजारमा हिस्सा अभिवृद्धि गर्ने र संघीय ढाँचाअनुरुप प्राधिकरणको प्रादेशिक र स्थानीय तहमा संरचना खडा गर्ने काम हुनेछ ।

हालैका वर्षमा देशव्यापी विद्युत् कटौतीको स्थितिलाई अन्त्य गर्दै नेपालको ऊर्जा क्षेत्रले विद्युत् उत्पादनमा अभिवृद्धि, चुहावट नियन्त्रण र अन्तरदेशीय प्रसारण लाइन विस्तारमा उल्लेख्य उपलब्धि हासिल गरेको छ । अहिले नेपालमा कूल जनसङ्ख्याको ८८ प्रतिशत जनतामा विद्युत् पुग्न सकेको छ ।

सचिव ढुङ्गानाले नेपालको सामाजिक, आर्थिक विकासमा सहयोग गरेकोमा विश्व बैंकलाई धन्यवाद दिँदै यसले ऊर्जा क्षमताको समुचित विकास गरी विद्युत् सुविधाको पहुँच वृद्धिका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

उनले नेपालको ऊर्जा क्षेत्रलाई भरपर्दो र दिगो बनाउने तथा गरिबी निवारण र मुलुकको समृद्धिमा समेत सघाउ पुग्ने विश्वास व्यक्त गरे । उनले नेपालसँगको ५०औँ वर्षसम्मको सम्बन्धलाई निरन्तरता दिँदै सहयोग गर्न पाएकामा खुशी व्यक्त गरे ।