मानिसमा कोरोनाभाइरसको खोप परीक्षण शुरु

काठमाडौं । बेलायतमा मानिसमा कोरोनाभाइरसको खोप परीक्षण सुरु गरिएको छ । बेलायतको इम्पेरियल कलेजका प्राध्यापक रोबिन शाटोकको नेतृत्वमा परीक्षण थालिएको हो ।

आउँदो सातासम्ममा तीन सय स्वयमसेवकहरुले यो खोप लगाउने छन् । यसअघि जनावरमा गरिएको यो खोपको परीक्षण सफल भइसकेको छ । खोप लगाएपछि जनावरमा रोग प्रतिरोधी क्षमता बढेको थियो ।

अक्सफोर्ड युनिभर्सिटीका बिज्ञहरुले खोपको मान्छेमाथिको परीक्षण सुरु गरिसकेका छन् । यो खोप लगाउने पहिलो स्वयमसेवक फाइनान्समा काम गर्ने ३९ वर्षीया काथी हुन् । उनले आफू भाइरसविरुद्धको लडाइमा सहभागी हुन थाहेको कारण खोप परीक्षणमा पहिलो व्यक्ति हुन मञ्जुर भएको बताएकी छिन् ।

पहिलो चरणको परीक्षणपछि यो खोपको दोस्रो चरणको परीक्षण आगामी अक्टोबरबाट शुरु हुने जनाइएको छ । दोस्रो चरणमा छ हजार जनामा परीक्षण गरिने छ । सबै परीक्षण सफल भए सन् २०२१ को शुरुवातबाट खोप बेलायत र अन्य देशका लागि समेत उपलब्ध हुने जनाइएको छ ।