महिला पुरुषबीच विभेदको रेखा नकोर्न देउवाको आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल काँग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकता संशोधन विधेयकले महिला र पुरुषबीच भेदभाव गरेकोले यो संविधानको मर्म विपरित भएको बताएका छन । सभापति शेरबहादुर देउवाले महिला र पुरूषबीच विभेदको रेखा नकोर्न पनि आग्रह गरेका छन् ।

सभापति देउवाले ट्विट गर्दै भनेका छन, ‘हाम्रो संविधानले महिला र पुरूषबीच समानता सुनिश्चित गरेको छ । छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य छैन, हुनु पनि हुँदैन ।’

नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले नागरिकता पाउने, तर नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषले नागरिकता नपाउने गरी विभेदको रेखा कोरिएकोप्रति देउवाले असन्तुष्टि जनाएका हुन ।

उनले भनेका छन, ‘यसैले, महिलालाई दोस्रो दर्जाका नागरिक बनाउने गरी ल्याइएको प्रावधान संशोधन गरी लिंगको आधारमा विभेद नहुने, अनि समानताको अवधारणा–मर्म अनुरुप नागरिकता विधेयक अघि बढाउन म सत्तारूढ नेकपासँग माग गर्दछु ।’