सरकार आफैं क्रिश्चियन धर्मको प्रचारमा : विश्व हिन्दू महासंघ

काठमाडौं । सरकार आफै क्रिश्चियन धर्मको प्रचारमा लागको विश्व हिन्दू महासंघले आरोप लगाएको छ। मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा गर्न लागिएको ‘एसिया प्यासेफिक समिट–२०१८’ लाई सहयोग गरेर सरकारले क्रिश्चियन धर्मको प्रचार गर्ने उद्देश्यलाई सहयोग गरेको आरोप महासंघले लगाएको हो।

विश्व हिन्दू महासंघले समिटको विरोधमा पत्रकार सम्मेलन गर्दै समिट विफल बनाउन हिन्दूवादीलाई आग्रह गरेको छ । महासंघले विरोध स्वरुप विभिन्न कार्यक्रम गर्ने पत्रकार सम्मेलनमा जनाएको छ ।

कार्यक्रमको सहआयोजकबाट नेपाल सरकारको नाम हटाइए पनि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरुको कार्यक्रम यथावत राख्नुले जनतामा भ्रम मात्र छरेको पुष्टि भएको दाबी बताएको छ ।

महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘नेपाल सरकार सहआयोजकको भूमिकामा नरहेको भने पनि प्रधानमन्त्रीलगायतका विभिन्न मन्त्रीहरुको संलग्नता र पूर्वनिर्धारति कार्यक्रम यथावत राख्नुले आँखामा छारो हाल्ने काम भएको प्रमाणित भएको छ।’

‘युनिभर्सल पिस फेडेरेशन’ नामक आइएनजिओ आयोजक रहेको कार्यक्रममा ‘हाम्रो समयको संवेदनशीलताः चुनौती, स्वतन्त्रता, सामूहिक समृद्धि र विश्वव्यापी मान्यता’ भन्ने विषयवस्तुमाथि छलफल हुने उल्लेख छ।

महासंघका कार्यवाहक अध्यक्ष प्रमोद चौरसियाले धर्मान्तरमा कुख्याति कमाएका संस्थालाई सरकारले प्रश्रय दिएर ‘जो रक्षक उही भक्षक’को चरित्र देखाएको बताए।

उनले क्रिश्चियनसँग पैसा खाएर नेपाली नेताहरुले ॐ कार परिवार र सनातन हिन्दू धर्म सिध्याउन लागेको आरोप लगाए । उनले भने, ‘आफूलाई हिन्दू भने पनि भित्रभित्रै पैसा खाएर क्रिश्चियनको प्रचारमामा लागेका छन्।’

आदित्यनाथको विरोध किन ?

विवाह पञ्चमीमा जन्तीको नेतृत्व गर्दै नेपाल आउन लागेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथको विरोध गर्नु हिन्दू धर्मकै विरोध गर्नु सरह भएको विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियकी महासचिव अस्मिता भण्डारीले बताइन् ।

‘क्रिश्चियनले दिएको पैसा खाएर आदित्य नाथको नेपाल आवागमनको विरोध नेताहरुले गरेको देखिन्छ’, भण्डारीले भनिन् ।

उनले आक्रोसित हुँदै पैसा खाएर योगीजीको विरोध गरिएको बताइन् ।
उनले कम्युनिष्टको धर्म नै क्रिश्चियन भएकाले सरकारमा पुगेकाहरुले हिन्दू धर्मप्रति नदेखिने गरी आक्रमण गरेको दाबी गरिन् ।